सरकारले नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल क्लिक्सलाई जानकारी दिए।
मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार(भोली) देखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो।
निजामती प्रशासनमा अर्याललाई अलिक निडर र सुधारवादी प्रशासक मानिन्छ। यद्यपी उनी रोलक्रमका आधारमा मुख्य सचिवका लागि चौथो नम्बरमा रहेका सचिव हुन्। राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरियतामा थिए।
२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए।
अर्याल प्रधानमन्त्री केपी ओलीसँग सन्निकट प्रशासक भनेर पनि चिनिएका थिए।


