पाँचथर- पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ स्थित आइतराज केरुङको घरमा ग्रिनेट विस्फोट हुँदा ४ जना बालबालिका घाइते भएका छन्।
उक्त वडाका वडाध्यक्ष भरतबहादु खपाङ्गीका अनुसार बिहीबार दिउँसो भएको विस्फोटमा परी बालबालिका घाइते भएका हुन्।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। एक जना सामान्य छन्।
गम्भीर घाइतेमध्ये ११ वर्षीय दिपशन साँवा र २ वर्षीया प्रियसा सावा, ११ वर्षीय पवन राईलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको थियो।
उनीहरूमध्ये दिपशन र प्रियसाको उपचार पाँचथरमा सम्भव नभए पछि थप उपचारको लागि विर्तामोडस्थित बी एन्ड सी अस्पतालका लागि रिफर गरिएको छ।
सामान्य घाइते ७ वर्षीय दीपसन राईलाई स्थानीय स्वास्थ्य चाैकीमा प्राङबुङमा भर्ना गरी उपचार सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीका अनुसार केरुङको घरमा अर्काे पनि विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ फेला परेको छ। विस्फोट भएको पदार्थ पनि ग्रिनेड नै भएको उनको भनाइ छ।
विस्फोटबारे थप अध्ययन गर्न नेपाली सेनाको टोलीलाई बोलाइएको र सेना शुक्रबार मात्र घटनास्थल पुग्ने प्रहरीले जानकारी दिएको छ।


