टेक्सास- टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या अभियोगमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
मुनाको अपार्टमेन्टमा पुगेर तीन गोली प्रहार गरी हत्या गर्ने व्यक्ति बबीसिंह शाह भएको ह्युस्टन प्रहरीले जानकारी दिएको हो।
शाहविरुद्ध हत्या अभियोग दर्ता गरिएको छ।
५१ वर्षीय शाहविरुद्ध २६२औं स्टेट डिस्ट्रिक्ट कोर्टमा हत्याको अभियोग दायर गरिएको छ।
बुधबार मुनाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले फोटो सार्वजनिक गरेको केही घण्टा नबित्दै ती संदिग्धलाई नियन्त्रणमा लिइएको थियो।
शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि तीन गोली प्रहार भएको थियो।
सीसीटीभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका थिए।
मुना अमेरिकी पुरुषसँग प्रेम सम्बन्धमा भएकाले हत्यामा तिनै पुरुष संलग्न भएको आशंका गरिँदै आएपनि हत्यामा सिंहको संलग्नता देखिएको प्रहरीको भनाइ छ।
मुना सुत्ने गरेको ओछ्यानमा कट्कटिएको रगत भेटिएको र शनिबार अपार्टमेन्टमै पुगेर ती पुरुषले हत्या गरेको प्रहरीको आकलन छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी हुन्।
सन् २०२२ को जनवरीदेखि उनले हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुरेन्टमा करिब एक वर्ष काम गरेकी थिइन्।
काठमाण्डुकरीका संचालक रामकृष्ण सापकोटाका अनुसार इमान्दार र ग्राहक सेवामा मुना अब्बल थिइन्। मुनाले काठमाण्डुकरी छोडेपछि पनि धेरैसम्म ग्राहकले मुनालाई खोजिरहेका हुन्थे।
मुनाकी आमा काठमाडौँ बस्दै आएकी छन्। माता-पिताको सम्बन्धविच्छेद भइसकेकाले अमेरिका प्रस्थान गर्नुअघिसम्म मुना आमासँग बस्दै आएकी थिइन्। एकल आमाले हुर्काएकी मुना एक्ली सन्तान हुन्।
मुना सुरुमा नेपालबाट गएको साथीसँग बस्दै आएपनि पछि अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्।
मुनाले प्रेमीसँग घुम्न गएका फोटो र भिडियोपनि आमा अनितालाई पठाउने गरेकी थिइन्। तर बीचमा भने उनीहरुबीच सम्बन्ध राम्रो नभएको समेत मुनाले आमालाई सेयर गरेको बताइएको छ।
४ दिनदेखि छोरी मुनाको मोबाइल अफ रहेको र पहिले पनि बेलाबेलामा अफ हुने गरेकाले कतै घुम्न गएको होला भन्ठानेको उनको भनाइ छ।
नेपालको भोजपुरकी मुना ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन्।
मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो।
घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेस्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको थियो।


