काठमाडौं– कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई अगाडि सारेर सत्ता, भत्ता र आफन्त नजिककालाई समृद्ध बनाइरहेको कांग्रेस नेतृत्वले पार्टीभित्रका इमान मान्छेलाई कित्ता रोज्न दबाब दिँदै आएको छ। कांग्रेसलाई सही लिकमा ल्याउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरुले कोसिस गरिरहे पनि संस्थापन पक्ष मन्त्रालय भागबन्डा र कमाउ मन्त्रालयमा आफ्ना पक्षधरलाई पठाउन सफल भएको छ भने संस्थापन इतर समूह पनि भागबन्डामै रमाएको छ।
नीति र सिद्धान्तलाई धारेहात लगाएर शक्ति र सत्तामा रहिरहन कांग्रेसभित्र जन्मिएका गुटहरु भागबन्डा मिल्नासाथ एकाकार हुन्छन् भने नहुँदा घरझगडामा उत्रिइहाल्छन्। यसको पछिल्लो उदाहरण पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट मन्त्रीको लिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएर सपथ खुवाइसकेका संस्थापन इतर पक्ष शेखर कोइराला समूहले भने आफ्ना मान्छे र मन्त्रालयमा चित्त नबुझेको भन्दै धेरै दिन मन्त्रीको नामै दिएन। प्छि कुरो मिल्यो र धनराज गुरुङहरु मन्त्री बने।
कांग्रेसभित्र पछिल्लो समय मन्त्रालय र मन्त्री भागबन्डामा कुरो नमिलेर संस्थापनलाई गिजोलिरहेको संस्थापन इतर नेता शेखरका समूहबाट मन्त्रीको टुंगो लागेपछि चुपचाप छ। कांग्रेस सत्ताबिना अडिनै नसक्ने गरी थलिएको छ। पार्टीभित्रका गुटहरु कमाउ धन्धामा लागेका खबर आउन थालेका छन्। अझ नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत कांग्रेस नेता एवं तिनका श्रीमतीको पनि संलग्नता रहेका खबर बाहिरिएका छन्। भ्रष्टाचार व्यक्तिले गर्ने हो, पार्टीले होइन भन्ने कुरा कांग्रेस नेतृत्वमा रहेकाहरुले बुझेको देखिँदैन।
यस्तो बेला कांग्रेसभित्रको युवा जमात पार्टीलाई रुपान्तरण गर्न भन्दै सात वटै प्रदेशमा प्रदेश भेला राख्ने निर्णयमा पुगेका छन्। काठमाडौंमा केही दिनदेखि चलिरहेको बैठक सातै प्रदेशमा भेला बोलाउने निर्णय गरेर हिजो मात्र समापन भएको छ। जेठमा सातै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता भूपेन्द्रजंग शाहीले बताए। उनले भने ‘कांग्रेसमा आमूल परिवर्तन र रुपान्तरणका लागि देशव्यापी अभियान चलाउने निर्णय गरिएको हो। सातै प्रदेशमा बृहत् भेला गरेर छलफल गर्छौं। नेता तथा कार्यकर्ता र जनताका कुरा सुन्छौं। कांग्रेस रुपान्तरणका लागि दबाब दिन्छौं।’
भेलामा कांग्रेसका सबै प्रदेशका अगुवा कार्यकर्ता र युवासँग छलफल गरेर पार्टीलाई शुद्धीकरणको दिशामा लगिने उनको भनाइ छ। कांग्रेसमा परिवर्तन ल्याउन र रुपान्तरण गर्ने विषयमा केन्द्रित हुने भेलाले प्रतिफल भने दिने देखिन्न। कांग्रेसभित्र रुपान्तरणको बहस सुरु हुनासाथ शीर्ष नेतृत्वले आँखा लगाइहाल्छ र अभियानमा जोडिएकालाई किनाराकृत गर्ने चलन पुरानै हो। भेलाका लागि प्रदेश संयोजकसमेत तोकिएको छ।
भक्तपुरको कौशलटारमा भएको बैठकले भेला संयोजन गर्न कोसी संयोजकमा गुरुराज घिमिरे, मधेस संयोजकमा रञ्जित कर्ण, बागमती संयोजकमा केन्द्रीय सदस्य मधु आचार्य, गण्डकी संयोजकमा देवराज चालिसेलाई तोेकेको हो। लुम्बिनी संयोजकमा केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, कर्णाली संयोजकमा भूपेन्द्रजंग शाही र सुदूरपश्चिम संयोजकमा भरत खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ।


