काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएर करोडौं रकम असुली प्रकरणमा पक्राउ परेका आठ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आइतबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताएका हुन्।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म आठ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, टंककुमार गुरुङ, सन्देश शर्मा, केशव दुलाल, सानु भट्टराई र सागर राई प्रहरी हिरासतमा छन्।
प्रहरीले नक्कली भुटानी प्रकरणमा एमाले सांसद रायमाझीलगायत केही व्यक्तिविरुद्ध पक्राउ अनुमति लिए पनि हाल सबै फरार छन्।


