काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता निरन्तर अस्विकार गरिरहेका बेला प्रहरीले भने यो विषयमा आफ्नो सोधखोज तिब्र बनाएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे संलग्न तीनवटा संस्थामा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको छ। ‘पोखराबाट आएको प्रहरीले यता काठमाडौं प्रहरीको सहयोगमा उनीहरुसम्बद्ध संस्थामा खानतलासी गरेको हो’, प्रहरी उच्चस्रोतले जानकारी दियो, ‘सहकारी अपचलनमा रवि, विपिन र छविलाल तीनै जनालाई सोधपुछ पनि गरेको छ।’
कास्कीबाट अनुसन्धानमा खटिएका अधिकारीहरूले काठमाडौँ प्रहरीको सहयोगमा गोर्खा मिडिया नेटवर्क, नेचर हब र नेचर नेस्ट नाम गरेका तीनवटा संस्थामा खानतलासी गरेको हो।
खानतलासीमा प्रहरीले तीन वटा संस्थाबाट केकस्ता कागजात तथा प्रमाणहरु संकलन गर्यो भन्ने खुलाइएको छैन। तर प्रहरी बयानमा भने सभापति रवि लामिछाने र सहमहामन्त्री विपिन आचार्यले आफूहरुको संलग्नता नकारेको स्रोतको भनाइ छ।
यसअघि, सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले पनि यी तीनैजनालाई बोलाएर गत साता बयान लिएको थियो।
बयानका क्रममा रविले कुनै पनि सहकारीबाट गोर्खा मिडियामा आएका रकममा आफ्नो हस्ताक्षर, नागरिकतालगायत कुनै कागजात समावेश नभएको दाबी गरेका थिए भने आचार्यले आफ्नो खातामा रकम आएकोबारे आफू अनभिज्ञ रहेको बताएका थिए।
यदी दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाए उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउने प्रहरीको तयारी रहेको एक उच्च अधिकारीले बताए।
यससँगै लामिछानेसहितका दुई व्यक्तिविरुद्ध सूर्यदर्शन सहकारीको पुरक जाहेरीमा अनुसन्धान अघि बढ्ने प्रहरीले संकेत गरेको छ। लामिछानेविरुद्ध पुरक जाहेरी परेको एक वर्ष हुन लाग्दा पनि यसअघि कुनै अनुसन्धान तथा सोधपुछ भएको थिएन।
अनिवार्य अनुसन्धान गर्नुपर्ने भन्दै कांग्रेसले संसद् समेत लामो समय अवरुद्ध गरेको थियो। कांग्रेसकै सांसद रमेश लेखक गृहमन्त्री भएपछि फाइल अघि बढाइएको हो।
प्रहरी उच्च स्रोतले गृहमन्त्री लेखकलाई गोर्खा मिडिया नेटवर्कको अनुसन्धानबाट लामिछाने कसुरमा तानिनसक्ने राय दिएको थियो। लेखकले पनि प्रहरी महानिरीक्षकलाई यो विषयमा गम्भीर अनुसन्धान गर्न गृहमन्त्री हुँदासाथ निर्देशन दिएका थिए।
पहिले प्रतिपक्षमा हुँदा चर्को कुरा गरेको तर सत्तामा पुगेपछि भने यो विषयलाई अनदेखा गरेको भन्दै गृहमन्त्री लेखकको समेत आलोचना हुँदै आएको छ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेका नाममा २ करोड रकम गएको अभियोगमै उल्लेख भए पनि प्रहरीले उनीसँग सोधपुछ गरेको थिएन। तर, सूर्यदर्शनको मुद्दामा भने लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे र सहमहामन्त्ती आचार्यसँग सोधपुछ गरिएको हो।
कागजहरू नियन्त्रणमा लिएसँगै उनीहरू अनुसन्धानको दायरामा आउने देखिएको छ। दुई दिन अगाडि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले सहकारी ठगीको मुद्दामा अनुसन्धान भइरहेको र संलग्न व्यक्ति कानुनी दायरामा ल्याइछाड्ने बताएका थिए।
यसअघि पनि कास्की प्रहरीले नेचर हबको कार्यालयमा छापा मारेर उपकरणहरू नियन्त्रणमा लिएको थियो। सोही उपकरणबाट जीबी राईका सम्पूर्ण सहकारीको विवरण फेला परेको थियो।
सहकारी छानबिन विशेष समिति अहिले सहकारीको रकम अपचलनमा संलग्न विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै प्रतिवेदन लेखनमा लागेको छ।


