काठमाडौँ- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्न पूर्वप्रहरी प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्। पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
‘प्रधानमन्त्रीसमक्ष मन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
आइतबार पोखरामा पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गरेको आरोप लगाउँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको विरोध भइरहेको छ।
पदीय हैसियत नै बिर्सिएर मन्त्री गुरुङले दिएको अभिव्यक्तिले उनी प्रहरीको नजरमा गिरेको टिप्पणी पूर्व प्रहरी प्रमुखहरूले गरेका छन्।
‘अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने जस्ता शब्दहरूको प्रयोग गर्नु भएकोमा यस मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।
मन्त्री गुरुङबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले उनकै राजनीतिक कद घटाएको र नेपाल प्रहरीको नजरबाट गिरेको उल्लेख गरेका छन्।


