काठमाडौं- सरकारले एकैपटक एक हजारभन्दा बढी कैदी माफी दिने तयारी गरेको छ।
असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई माफी दिएर जेलबाट निकाल्न लागिएको हो।
गृह मन्त्रालय मातहतको कारागार व्यवस्थापन विभागले असार ९ गते ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो। मंगलबार उक्त सूचीमा विभागले ४९२ जनाको नाम थपेको छ। उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ।
कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण आचार्यले असार ९ गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने बताए।
विभागले अघिल्लोपटक निकालिएको ६२० जनाको सूचीबाट १९ जनाको नाम भने हटाएको छ।


