जनकपुरधाम- मापदण्डविपरीत ढक र तराजु प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगी गर्ने १ हजार ७१७ व्यवसायीलाई गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले कारबाही र जरिमाना गरेको छ।
यस कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एकल एवम् संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारबाही गरेको जनाएको हो। धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा गरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले गत आर्थिक वर्षमा उक्त कारबाही गरेको कार्यालय प्रमुख मुकुन्द चौहानले जानकारी दिए।
उक्त अवधिमा कार्यालयले व्यावसायिक कारोवार गर्न चार सय ४५ जना व्यवसायीलाई नयाँ नापतौलसम्बन्धी अनुमतिपत्र प्रदान गरेको छ।
कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको, १३ जना व्यवसायीलाई नापतौल यन्त्रसम्बन्धी (ढक र काँटा बिक्री) इजाजतपत्र प्रदान गरेको, एक सय ४० पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच तथा चार सय ९४ पेट्रोलियम पम्पको नोजल जाँच गरेको कार्यालयका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिए।
कार्यालयले सो अवधिमा एक सय १६ बेलिब्रिजको जाँच गरेको, १७ पटक डोर सञ्चालन गरेको, एकल अनुगमन ७२ पटक, एकल अनुगमन (फार्म सङ्ख्या) चार सय ६५, संयुक्त अनुगमन १३ पटक तथा संयुक्त अनुगमन (फार्म सङ्ख्या) एक सय नौ वटा भएको सूचना अधिकारी साहले बताए।
उक्त कारवाही र नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नविकरणबापत कार्यालयले ४० लाख ६७ हजार दुई सय ४२ रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षमा यस कार्यालयको वित्तीय प्रगति ८२ प्रतिशत तथा भौतिक प्रगति ९४ प्रतिशत रहेको छ।


