काठमाडौँ- होटेल, रेस्टुरेन्ट र बारमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने ग्राहकले अब १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता पाउने भएका छन्।
विद्युतीय माध्यमबाट गरिने भुक्तानी प्रोत्साहन गर्न आन्तरिक राजस्व विभागले भ्याट फिर्ता सुविधा दिने भएको हो।
विभागले आइतबार प्रकाशित गरेको सूचनाअनुसार उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता गर्नुपर्ने छ।
बार, चमेनागृह तथा रेस्टुरेन्ट, होटेल, मोटेल, लज, गेस्ट हाउसमा अनलाइन भुक्तानी गर्दा ग्राहकलाई भ्याट फिर्ता गर्नुपर्छ।
‘विभागको २०८१/०५/२१ को निर्णयअनुसार देहाय बमोजिमका सेवा खरिदमा उपभोक्तालाई त्यस्तो खरिद मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय भएकोले सम्बन्धित सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागको सूचनामा भनिएको छ।
विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई भ्याट फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया २०७६ बमोजिम प्रणाली परिमार्जन गरी यस कार्यमा सहजीकरण गर्न बैंक, भुक्तानी सेवा सञ्चालक तथा सेवा प्रदायकलाई समेत सूचित गराएको छ।


