काठमाडौं– संवैधानिक परिषद्को सोमबार बेलुकी बसेको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति सिफारिस गरेको छ।सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो। कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका पदेन समस्य रहेका राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त नहुँदा न्याय सम्पादनमा असर परेको भन्दै बार एसोसिएसनलगायतका संस्थाले आन्दोलन गर्दै आएका थिए। परिषद्ले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समिति बनेको छैन।
परिषद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेता एवं एमाले अध्यक्ष केपी ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रहेका छन्।
यसअघिका अभ्यासमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्दा संसदीय सुनुवाइ समितिमा गरिन्थ्यो। समितिमा नाम सिफारिस गर्नुपर्ने भए पनि संसदीय समिति नै गठन नहुँदा कानुनी उल्झन आउन सक्ने देखिन्छ।


