काठमाडौँ- संवैधानिक परिषद्को बैठक कुनै निर्णय गर्न नसकी सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो।
संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने समझदारीमा पुगेको बैठकले कुनै निर्णय भने गर्न सकेन।
शुक्रबारको बैठकले कुनै निर्णय गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को बैठक भदौ ३१ गतेका लागि बोलाएका छन्।
बैठक स्रोतका अनुसार आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रित थियो।
यद्यपि बैठकले कुनै निर्णय गरेन। अरु कुनै पनि विषयमा बैठकमा छलफल पनि भएन।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गते अनिवार्य अवकाशमा जाँदैछन्।
२०८० भदौ ४ गते राष्ट्रपति रामचन्द्र पौडेललेले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।
६५ वर्षे उमेरहदका कारण उनी अवकाशमा जान लागेका हुन्।
सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख भए अनुसार उनको जन्ममिति २०१६ असोज २० गते हो।
त्यसअघि नै प्रधानन्यायाधीश सिफारिस गरी नियुक्त गरिसक्नुपर्ने भएकाले प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद बैठक बसेको थियो।


