न्युयोर्क- अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा अन्तरिक्षबाट पनि मतदान हुने भएको छ। अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री सुनिता (सुनी) विलियम्स र बुच विल्मोरले अन्तरिक्षबाटै मतदान गर्न लागेका हुन्। यी दुई जनालाई पृथ्वीको सहतभन्दा २५० माइल माथिबाट मतदान गराउने योजना बनाइएको छ।
विलियम्स र विल्मोरले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट पत्रकार सम्मेलनमा भाग लिएका थिए। गत जुन महिनादेखि उनीहरू उक्त स्टेसनमा बस्दै छएका छन्।
उनीहरु प्रस्थान गरेको अन्तरिक्षयान बोइङ स्टारलाइनरमा समस्या देखिएपछि उनीहरू अन्तरिक्षमा नै अड्किएका छन्। उनीहरूलाई फेब्रुअरीमा फिर्ता ल्याउने तयारी नासाले गरेको छ। फेब्रुअरीमा फिर्ता हुने तयारी गरिएकाले उनीहरूले नोभेम्बर ५ मा हुने मतदान अवसर गुम्न नदिन नासाले पनि प्रयास गर्दै आइरहेको बताएको छ।
‘मैले मतपत्रको लागि मेरो अनुरोध पठाएको छु,’ आईएसएसबाट पत्रकार सम्मेलनमा जोडिएका विल्मोरले भने, ‘हामी उक्त अवसरको लागि उत्साहित छौं।’ अन्तरिक्षबाट मतदान गर्न सक्षम हुने आशा सुनीताले राखेकी छन्।
उनीहरूले कसलाई मतदान गर्लान् त भन्ने चासो भएपनि अन्तरिक्षयात्री जोडीले उक्त कुरा भने खुलाएका छन्। आगामी राष्ट्रपतिको उम्मेदवार बन्नका लागि डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प चुनावी दौडमा छन्। ट्रम्प पूर्वराष्ट्रपति हुन् भने कमला हालकी उपराष्ट्रपति हुन्।
सुनीता र बुचले अन्तरिक्षबाट मतदान गर्न पाएको अवस्थामा पनि उनीहरू अन्तरिक्षबाट मतदान गर्ने पहिलो व्यक्ति भने बन्ने छैनन्। यसअघि नै अन्तरिक्षयात्रीहरूले अन्तरिक्षबाटै मतदान गर्दै आएका छन्। अमेरिकामा सन् १९९७ मा नै अन्तरिक्षबाट मतदान गर्न पाउने कानुन बनेको छ।
टेक्सासको विधान सभाले नासाका कर्मचारीहरूलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्षयात्रीहरूले सन् १९९७ देखि अन्तरिक्षबाट मतदान गर्न पाउँदै आएका छन्।
सन् १९९७ मा नै नासाका अन्तरिक्षयात्री डेभिड वुल्फ मिरले स्पेस स्टेसनबाट मतदान गरेका थिए। उनी अन्तरिक्षबाट मतदान गर्ने पहिलो अमेरिकी हुन्।
सन् २०२० मा नासाकी अन्तरिक्षयात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट नै मतदान गरेकी थिइन्।
शुक्रबारको पत्रकार सम्मेलनभन्दा ठ्याक्कै एक हप्ताअघि सुनीता र बुचलाई लिएर गएको अन्तरिक्षयान स्टारलाइनर पृथ्वीमा फर्केको थियो। यसमा चालक दलका कुनै पनि सदस्य भने थिएनन्। उक्त अन्तरिक्षयानका चालक दलका सदस्य स्पेस एक्सको क्रू ड्र्यागनको लागि अन्तरिक्ष स्टेसनमा बनाउनका लागि खटिएका छन्। स्पेसएक्सले नै अन्तरिक्षमा अड्किएका दुई अन्तरिक्ष यात्रीलाई फेब्रुअरीमा पृथ्वीमा ल्याउनेछ।
अन्तरिक्षमा धेरै हिलियम लिकेज भएपछि आफूहरू अन्तरिक्षमा फसेको थाहा पाएका थिए। पछि नासाले सन् २०२५ को फेब्रुअरीअघि उनीहरूलाई फर्काउन नसकिने जानकारी दियो।
‘हामीले केही पत्ता लगाउन सक्छौँ,’ पत्रकार सम्मेलनमा विलियम्सले भनेका थिए, ‘हामीले सक्दो प्रयास गरिरहेका छौँ।’ कठिन परिस्थितिको सामना गर्नाले ठूलो साहस र चरित्र निर्माण हुने उनको भनाइ छ।
‘हामीलाई काम दिइएको छ। हामी सिकिरहेका छौं। हामी सबै प्रकारका परिस्थितिहरू ह्यान्डल गर्न प्रशिक्षित गरिएको छ। हामीले नासामा मात्र होइन, यो सुनीता र मैले सम्पूर्ण करियरको लागि पनि गरिरहेका छौँ,’ विल्मोरले भने, ‘जे भए पनि, हामी हरेक राम्रो काम गर्न कोसिस गरिरहेका छौँ। किनभने अन्तरिक्षयात्रीहरुले यस्ता काम गरिरहनु पर्छ।’
विलियम्स र विल्मोर अन्य सात अन्तरिक्षयात्रीहरूसँग आईएसएसमा छन्।


