काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट र छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरवार पुगेका छन्। प्रधानमन्त्री कार्यालयमा पुगेका उनीहरूबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहेका बेला दाहाल, देउवा र ओलीबीच भेटघाट बाक्लिएको छ। नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि पहिलो पटक तीन नेताबीच भेट भएको हो।
यसअघि एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेटका लागि पुगेका थिए। कांग्रेसका नेताहरूसमेत तानिएपछि देउवा पनि प्रधानमन्त्रीसँग निरन्तर भेटको सूचीमा पर्न थालेका हुन्। रायमाझी अझसम्म फरार छन्।
मंगलबार पनि तीन नेताबीच भेट भएको थियो। तीन नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल हुने गरेको बताइने गरेको छ।


