काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलका शीर्ष नेताबीच नक्कली शरणार्थी प्रकरणबारे छलफल नभएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
पछिल्ला भेटघाटबारे भ्रम फैलिएको बताएका प्रधानमन्त्री दाहालले संसद सञ्चालनका विषयमा छलफल केन्द्रित भएको बताए। संसद संचालन, संयुक्त र विषयगत संसदीय समिति गठनलगायतका विषयमा छलफल केन्द्रित भएको उनको भनाइ थियो।
‘मिडियाहरुमा आएजस्तो पछिल्ला प्रकरणमा यो छलफल भएको होइन। सदनलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने र समितिहरु गठन गर्ने विषयमा बढी छलफल भइरहेको छ,’ उनले भने, ‘जहाँसम्म यो पछिल्लो घटनाबारे छ। दोषी कोही नउम्कियोस् र निर्दोष कोही नपरोस् भन्नेमा हामी एकमत छौं। प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको छ।’


