काठमाडौँ- बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्की दिएर ३० लाख असुलेको आरोप लगेकी नेपाल प्रहरीकी निरीक्षक (इन्सपेक्टर) विनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।
भैँसेपाटीकी इन्स्पेक्टर शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको ललितपुर प्रहरी परिसर जानकारी दिएको छ। शाहीलाई निलम्बन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरिएको हो।
ललितपुर प्रहरी प्रमुख शेखर खनालका अनुसार प्रारम्भिक अनुसन्धानमा अनियमितता आधार देखिएको छ। त्यसैले उनीमाथि अनुसन्धान गर्न शाहीलाई निलम्बन गर्न सिफारिस गरिएको हो। नेपाल प्रहरीका अधिकृत स्तरका कर्मचारीको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीमा व्यवस्था छ।
जिल्ला प्रहरी कार्यालयले डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिन समितिले इन्स्पेक्टर शाहीको मोबाइलसमेत नियन्त्रणमा लिइसकेको छ। उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ।
उनले आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोप लागेको छ। भैँसेपाटी प्रहरी प्रभागले गत ७ असोजमा एक व्यवसायीलाई शान्ति सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो। ती व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख लेनदेन गरेर छाडेको विषय सार्वजनिक भएपछि शाहीलाई निलम्बन गर्न माग उठेको थियो।
उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूमाथि आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढाइएको छ। घटनामा प्रहरीको भूमिकासमेत शंकास्पद देखिएको छ।
केही महिनाअघि सुनसरीमा चिनजान भएकी युवतीले एक व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन्। भैसेपाटी पुगेका व्यापारीलाई तत्कालै प्रहरीले भैँसेपाटी प्रभाग पुर्याउँछ। पैसाको बार्गेनिङ त्यहीँ सुरु हुन्छ।
६० लाख दिनुपर्ने युवतीले प्रस्ताव राख्छिन्। उक्त रकम नदिए बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरीसमेतको संलग्नतामा बार्गेनिङ हुन्छ। तर पछि ३० लाख रुपैयाँमा सहमति भएको थियो।
आफू फस्न सक्ने डरले व्यापारी ३० दिन राजी हुन्छन्। लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनमा देखिएको छ।
व्यापारीले २० लाख रुपैयाँ ती युवतीले भनेअनुसार नै युवतीका साथीको खातामा जम्मा गरिदिन्छन्। १० लाखको चेक दिएर उनी हिरासतमुक्त हुन्छन्।
तर यो सूचनामा ललितपुर जिल्ला प्रहरी परिसरले पाएरपछि पक्राउ परेका व्यापारीसहित सबैलाई परिसरमा पठाउन निर्देशन दिएको थियो। प्रारम्भिक सोधपुछमै घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुई जनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो।
ती युवतीबाट युवतीले लिएको चेकसमेत बरामद भएको छ। पैसा हालिएको खातासमेत रोक्का राखिएको छ। प्रहरीका अनुसार घटनाका एक योजनाकार फरार छन्। ती व्यक्तिलाई भगाउनसमेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ।
प्रारम्भिक छानबिनमै प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएको भन्दै उनलाई निलम्बन सिफारिस गरिएको हो।


