ललितपुर- ललितपुरको नख्खुखोला नजिकै सुगम बस्तीमा शनिबार बिहानै एक पुरुषले फेसबुकमा लाइभ गरेर ४ जनाको उद्धारका लागि गुहार माग गरिरहेका थिए। उनको उद्धारका लागि स्थानीयले प्रयास पनि गरिरहेका थिए।
वरिपरि नख्खु खोला बग्न थालेपछि दाजुभाइले आफ्ना सन्तान च्यापेर रौतहट घर भई सुगम बस्ती बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए।
उनीहरूले उद्धार गर्न आग्रह गरिरहे। तर समयमा कसैले उद्धार गर्न सकेन। नख्खु खोलामा आएको बाढीले केही क्षणमा नै जस्ताको छानो भएको टहरो भत्काइदियो। उनीहरू चारै जना खोलामा झरे। खोलामा झरेपछि वारिपारिबाट हेरिरहेकाहरूले भगवान् पुकारे। उनीहरूले लगभग चारै जनाको ज्यान बचाउन नसकिएकोमा पछुतो मानिरहेका थिए।
खोलाले तीन सय मिटरजति चारै जनालाई बगाइसकेको थियो। जलमग्न ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका स्थानीयहरु बाढी अवलोकन गर्न नदी आसपास गएका थिए। काभ्रेका चणिकलाल तामाङ पनि बाढी हेर्नका लागि निस्किएका थिए। उनले खोलाले बगाएको मान्छे देखे। उनी सिधै हाम्फालेर दुई जनालाई उद्धार गर्न सफल भए। ३३ वर्षीय चणिकलाल तामाङले मानवीय सहायता प्रदान गरेको भन्दै उनको अहिले प्रशंशा भइरहेको छ।
‘मेरो नाम चणिकलाल तामाङ हो। मेरो घर काभ्रे हो। म नख्खु खोला छेउमा बसेर पेन्टरको काम गर्छु,’ आफ्नो छोटो परिचय दिँदै तामाङले थप भने, ‘माथिबाट खोलाले मान्छेलाई बगाएर ल्याइरहेको देखेँ। मानवताका नाताले सिधै हाम्फालेर तानेर निकालेँ। दुई जनालाई तानेर निकाल्न सफल भएँ। एक जना बच्चा हो भने अर्को जना वयस्क पुरुष हुन्।’
काभ्रे घर भएका उनले सानैमा पौडी खेल्न सिकेका थिए। ‘सुनकोशी नदीमा पौडी खेल्न सिकेको थिएँ। पौडी खेलेरै पूरै खोला तर्न सक्छु भन्ने आँट थियो। त्यही भएर धेरै डर चै लागेन,’ उनले भने।
सुगम बस्ती टोल सुधार समितिका पूर्ण केसी पनि उद्धारको प्रयासका लागि खोलाले मान्छे बगाएको स्थानमा पुगेका थिए। ‘माथिबाट बगाएर लयाएको देखेपछि उहाँ (चणिकलाल)ले हाम्फालेर पौडी खेलेर निकाल्नुभएछ,’ केसीले भने।

चणिकलाल (बायाँ) र पूर्ण।
चणिकलालले भट्टाएका पुरुषले एक बच्चा बोकिरहेकै थिए। ‘उहाँले दुवै जना ‘बाबुछोरी’ (काकाभतिजी)लाई समातेर बाहिर ल्याउनु भएछ,’ केसीले भने। उनीहरू २२ वर्षीय राज साह र उनकी दाजुकी छोरी ६ वर्षीया मेघना साह हुन्।
राजुका दाइलाई पनि बाढीले बगाएको थियो। ‘अर्का एक जना पुरुष (राजु साह)को चाहिँ अलि पर गएर उद्धार भयो,’ केसीले भने।
पछि उनीहरूलाई चणिकलालले नै पेट थिचेर पानी निकाले। यसपछि उनीहरू दुवै जना होसमा फर्किए। ‘होस आएपछि उहाँ (राजु)ले अर्को बच्चा खै भनेर सोध्नुभएछ,’ केसीले भने, ‘अहिले पाटन अस्पतालमा तीन जनाकै उपचार भइरहेको छ।’ शेर्तु अझसम्म बेपत्ता छिन्।
चणिकले उद्धार गरेका दुवै जनालाई नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह आफ्नो गाडीमा हालेर पाटन अस्पताल पुर्याएका थिए। राजुकी छोरी शेर्तु बेपत्ता छिन्।
यसरी ४ जना बगाएको थियो नख्खु खोलाले


