काठमाडौँ- काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिइन्।
यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताइन्। यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।
मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिइन्।
उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ। ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको छ।
काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ। पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ।
नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ।
बूढानीलकण्ठमा १८७.३, खोकनामा २९७.३, नैकापमा २४५, नागार्जुनमा २०५ जितपुरफेदीमा १७८ नखेलमा १९४ मिली वर्षा भएको छ। यसअघि यी स्थानमा क्रमश: १५९, १४९, २३५ १४७, १२८, १९१ मिलि वर्षा भएको थियो।
साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ।
चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भन्ने गरिन्छ। एक दिनमै १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ। तर केही घण्टामै उच्च मात्रामा पानी परेमा थोरै पानी पर्दा समेत त्यो जोखिमयुक्त हुन सक्ने विज्ञहरू बताउँछन्।
पानीको मात्राअनुसार वर्षालाई पाँच वर्गमा राखिन्छ।
धेरैभारीदेखि अतिभारीसम्म वर्षा हुँदा बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन्।
काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन्।
शनिबार साँझबाट भने मौसममा केही सुधार आएको छ।


