न्युयोर्क- दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या ११८ पुगेको छ।
दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौँ अझै बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ।
मृत्युको सङ्ख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरिक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिना जाने घोषणा गरेका छन्।
आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको छ।
संघीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन्।
उनीहरूले प्रभावित क्षेत्रहमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन्।
अधिकारीहरूले मृतकको सङ्ख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन्।


