काठमाडौं: प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन्। संसीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र राउतबारे ६ वटा उजुरी परेको हुन्।
प्राप्त उजुरीहरु सुनुवाइ समिति सदस्यहरूलाई वितरण गरिएको छ।
अमेरिकाबाट राउतविरुद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक ऐनको गलत व्याख्या गरेको भनी उजुरी दर्ता गराएका छन्। बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहारका साथै राजनीतिक आस्थाका आधारमा फैसला तथा आदेश दिने गरेको आरोप लगाएका छन्। राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न नेपाली कांग्रेस निकटहरूलाई साधारण तारेखमा रिहा गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अर्का एक उजुरीकर्ताले राउतको दाम्पत्य जीवन विवादित रहेको भन्दै उनलाई अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएका छन्।
प्रस्तावित प्रधान न्यायाधीशले हाइड्रो पावरमा लगानी गरेको, सांग्रिलामा पौडी खेल्ने र सर्वोच्चकै क्यान्टिन सञ्चालकको रेष्टुरेण्टमा मोजमस्ती गर्ने गरेको उजुरीमा उल्लेख छ।
राउतविरूद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला गरेकाले प्रधान न्यायाधीशमा अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएकी छन्।
उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गा पनि राउतकै फैसलाले गुमाएको दाबी गरेकी छन् ।
अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको विषयलाई उठाएका छन्। प्रस्तावित प्रधान न्यायाधीश राउतविरूद्ध संसदीय सुनुवाइ समितिले बुधबार सुनुवाइको तयारी गरेको छ। उनीबारेको सुनुवाईमा उजुरीका विषयहरु के कसरी उठ्छन् र त्यसलाई प्रस्तावित प्रधानन्यायाधिश राउतले कसरी जवाफ दिन्छन् भन्ने चासो बढेको छ।


