मेक्सिको- ग्वाटेमाला र मेक्सिकोको सीमानजिकै मेक्सिकन सेनाले हानेको गोली लागेर नेपालीसहित ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये नेपाली पनि रहेको बताइएपनि कसैको पनि पहिचान खुलाइएको छैन।
मेक्सिकोको रक्षा मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले दर्जनौं आप्रवासी बोकेको ट्रकमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको जानकारी दिएको उल्लेख गरेको छ।
कतारी समाचार संस्था अलजजीराका अनुसार गत मंगलबार साँझ मेक्सिकोको दक्षिणी राज्य चियापासको हुइक्स्टला सहर नजिक आप्रवासीहरू बोकेको ट्रकमा सेनाले गोली चलाएको थियो।
अरू सवारीसँगै आइरहेको ट्रकमा गोलाबारी सुनिएपछि सेनाले आप्रवासीहरूले हतियार बोकेको आशंकामा गोली चलाएको दाबी गरिएको छ। तर ट्रकभित्र कुनै हतियार भने नभेटिएको जनाइएको छ।
ती ट्रकमा नेपाली, भारतीय, पाकिस्तानी, इजिप्टियन, क्युबाली र संयुक्त अरब इमिरेट्सका ३३ जना आप्रवासी थिए। तीमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा १२ जना घाइते भएका थिए भने १७ जना सुरक्षित थिए।
तर घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा पुर्याइएपछि दुई जनाको मृत्यु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गोलाबारी भएको स्थान ग्वाटेमालाको तपाचुला सहरबाट २५ माइल टाढा पर्छ। उक्त क्षेत्रबाट आप्रवासी र शरणार्थीहरू मेक्सिको हुँदै अमेरिकातर्फ जाने गरेका छन्।
अमेरिका–मेक्सिको सीमा आप्रवासीहरूका लागि संसारको सबैभन्दा घातक मार्ग मानिन्छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले २०२२ मा त्यहाँ कम्तीमा ६८६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो।
आइओएमले आधिकारिक तथ्यांक नभएको बताउँदै त्यहाँबाट बेपत्ता भएका र मृतकको संख्या अझ बढी (करिब १ हजार ४५७ जनाको मृत्यु भएको) हुनसक्ने अनुमान गरेको थियो।


