काठमाडौँ- पशु सेवा विभागले सिङमा हरियो रङ पोतिएका खसी किन्न सिफारिस गरेको छ।
उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशु चिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ।
टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले स्वस्थ खसीबोका मात्र बिक्री गर्न दिइने बताए।
विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो पोतेको छ। बिरामी खसीबोकाको सिङमा रातो रङ लगाएकोछ।
उनले स्वस्थ खसीबोका चिनाउनका लागि सिङमा हरियो रङ पोतिएको बताए।
सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरेको छ।
थापाथलीस्थित कम्पनीको परिसरबाट आइतबार बिहानदेखि खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरिएको हाे।
काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा देशका विभिन्न भागबाट ल्याइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको मूल्यसमेत निर्धारण गरेको छ।
कम्पनीले खसीबोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ। खसी (जिउँदो)को मूल्य प्रतिकेजी ६६०, बोका जिउँदोको मूल्य प्रतिकेजी ६६० र च्याङ्ग्रा जिउँदोको मूल्य प्रतिकेजी १२२० निर्धारण गरिएको छ।
यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ।


