लाउडादेखि धमिजा, सत्तरी करोडदेखि दुई करोड, वाइडबडीदेखि यति र ओम्नी, भूकम्पको त्रिपालदेखि सुकुम्बासी पौडेलको बालुवाटारसम्मका काण्डहरू मिडिया नभएको भए बाहिर आउने थिएनन्। त्यत्ति मात्रै होइन, ज्यानको बाजी लगाएर मिडियाले मुक्तिनाथ अधिकारीदेखि बाँदरमुडेसम्मका माओवादी ज्यादती र आतङ्कबारे नलेखेको भए त्यस्ता धेरै घटना दोहोरिने मात्रै थिएनन्, आज कांग्रेस-एमालेले गठबन्धनमा हुँदा जनयुद्ध दिवस मनाउने र बाहिर हुँदा १७ हजारको गणित देखाउने अवसर पाउने थिएनन्।
मिडिया कमजोर हुन्थ्यो भने देशको सुशासनको चित्र थप कुरूप बन्ने थियो। अदालतले न्याय दिन नसकेका र राज्यले उपचारको सुविधा दिन नसकेका लाखौंलाई मिडियाले न्याय र उपचार दिएको छ। राज्यले उपेक्षा गरेका कैयौं शवहरूलाई विदेशी कर्मभूमिबाट मिडियाले स्वदेश पुऱ्याएको छ।
मिडिया यति शक्तिशाली नभएको भए शायदै बालेन काठमाडौंको मेयर चुनिने थिए। सेतोपाटीले त बालेन र रवि लामिछानेलाई चुनावअघि नै विजेता घोषणा गरेको थियो। आफैँविरुद्ध सार्वजनिक टिप्पणी आए पनि आफ्नो धर्म नगुमाई सेतोपाटीले तनहुँमा रास्वपाले ठूलो मतान्तरसहित जित्ने प्रक्षेपण गरेकै थियो।
मिडियाले सुरुदेखि नै नयाँ उम्मेदवारलाई अन्यलाई भन्दा बढ़ी स्पेस दिएको थियो। मिडिया फेस नै गर्न मन नपराउने बालेनलाई पनि अझैसम्म मिडियाले साथ दिएकै छ। उनका साना स्ट्याटसलाई समेत प्रायशः हरेक मिडियाले समाचार बनाएको देख्नुभएकै होला। मिडियाकै शक्ति प्रयोग गरेर रवि लामिछानेले कैयौं भ्रष्टाचार काण्डको भण्डाफोर गरेकै हुन्, कैयौं दीनदुःखी र चेपुवामा परेका नागरिकको उद्धार गरेकै हुन्। उनको लोकप्रियता मिडियाकै शक्तिले आर्जेको हो। पोखरामा अपील त्रिपाठीले घूस खानेहरूलाई आच्छु आच्छु पारिरहेको मिडियाकै तागतले गर्दा हो।
आज पुलिसभन्दा अगाडि बढेर कान्तिपुरले हिम्मत नगरेको भए आरजू देउवादेखि मञ्जु खाँडसम्मका फाइल नखुल्न पनि सक्थे।
महाकालीदेखि कालापानी बेचेको मिडियाले होइन। आफ्नै देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका बेचेको मिडियाले होइन। ऋणमा बन्ने पाँच वर्षको मेलम्चीलाई पच्चीस वर्ष लगाएर र पाँचौं गुना लागत बढ़ाएर लुटेको पनि मिडियाले होइन। दिनको दुई वटा अन्तर्राष्ट्रिय फ्लाइट पनि नहुने ठाउँमा ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने र त्यसको ब्याज तिर्न अर्को ऋण लिनुपर्ने ट्ऱ्याप पनि मिडियाले सिर्जना गरेको होइन। मालपोतदेखि यातायातसम्म राजश्व तिर्न लाइन लाग्दा समेत घूस खुवाउनुपर्ने राज्य संयन्त्र पनि मिडियाले बनाएको होइन।
आज लाखौं युवा बाहिर जान विवश हुने गरी भयावह बेरोजगारी छ, धान्नै नसक्ने स्तरको महँगी र मूल्यवृद्धि छ। बाटोमा धुलो र धुवाँको कुरो गर्नै परेन, हामी विश्वकै प्रदूषित राजधानी सहरमा बस्छौँ। देशै भरका बाटो धुलाम्य छन्। श्वासप्रश्वास र क्यान्सरको विकराल समस्या छ। तीस प्रतिशतभन्दा बढ़ी बालबालिका कुपोषणले ग्रस्त छन्। अधिकांश सडकहरूमा फुटपाथ छैन। ती यति असुरक्षित छन् कि दश वर्षे माओवादी युद्धको भन्दा धेरै जनधनको क्षति सडक दुर्घटनामा हुँदै आएको छ। यो सबै विषयमा नेपाली राजनीति बोल्दैन। अलिअलि बोल्ने मिडियाले नै हो।
हरेक राजनीतिक दल मिडिया कमजोर होस् भन्ने चाहन्छ। कसरी मिडियालाई मुट्ठीमा कस्न सकिन्छ, त्यस्तो कानुन बनाउन चाहन्छ। तिनले यस्तो भाष्य निर्माण गर्न चाहन्छन् जसले गर्दा हामीलाई लागोस्- यो देश नेताहरूले स्वर्ग बनाउँदै थिए तर बीचमा मिडिया आएर नर्क बनाइदियो। यो देशका सारा बेथिति, विकृति, विसङ्गति र भ्रष्टाचार हटाउने हो भने मिडियाको घाँटी निचोरिदिए पुग्छ। देशमा सिस्टम ठीकठाक छ, नेताहरू ठीक छन्, योजना र तिनको गति ठीक छ। बस्, एउटा मिडिया ठीक भयो भने बाँकी त्यसै ठीक छ।
मिडियाप्रति आम जनमानसमा विद्वेष, घृणा र अविश्वास पैदा गर्न सकियो भने भोलि आफ्ना अनियमितता र भ्रष्टाचार मिडियामा बाहिर आएछ नै भने पनि कसैले नपत्याउने या मिडियामाथि नै खनिने अवस्था आउँछ। मिडियालाई तेजोबध गर्न सकेको त्यो दिन अहिले भन्दा पक्कै भयावह हुनेछ।
नयाँ र स्वच्छ भनिएका दलहरूले त सिस्टम र बेथितिविरुद्ध लड्नका लागि मिडियालाई बलियो बनाउनुपर्ने हो। जनमानसमा मिडिया र अदालतप्रति अविश्वासको विकास भयो भने देश बन्दैन भन्ने बुझाउनु पर्ने हो। पूर्ण विकृतिरहित क्षेत्र कुनै हुँदैन तर एक-दुई उदाहरण समाएर सिङ्गो क्षेत्रलाई कालोमोसो दल्नुहुँदैन भन्ने सिकाउनुपर्ने हो।
यो सबै विषयमा नेपाली राजनीति बोल्दैन। अलिअलि बोल्ने मिडियाले नै हो।
आज पुलिसभन्दा अगाडि बढेर कान्तिपुरले हिम्मत नगरेको भए आरजू देउवादेखि मञ्जु खाँडसम्मका फाइल नखुल्न पनि सक्थे। बलियो मिडिया नभएको भए ओली, देउवा र प्रचण्डको त्रिवेणीमा यो प्रसङ्ग त्यसै बगेर जान सक्थ्यो। मिडिया हुँदैनथ्यो भने देउवा र ओली मिलेर सरकार ढालिदिने थिए। मदन राई आज पुलिस कस्टडीमा पुगे, सेतोपाटीले हिम्मत नगरेको भए दर्जनौं बालबालिका यौनशोषणको शिकार बनिरहने थिए।
विश्वभरको उदाहरण र अनुभव यही हो कि, भ्रष्टाचारविरुद्ध लड्ने सबैभन्दा ठूलो र शक्तिशाली नागरिक हतियार मिडिया नै हो! लड्ने मात्र होइन, रोक्ने हतियार पनि यही हो। मिडियाले लेख्छ र राजनीति सकिन्छ भनेर पश्चिमी देशमा मान्छे सानो कमिसन खान पनि डराउँछन्। जुन दिन मिडियाले लेखे पनि कसैले पत्याउँदैन भन्ने देखिन्छ, लेखेर केही खुइल्याउँदैन भन्ने देखिन्छ, त्यो दिन के होला?


