काठमाडौँ- काठमाडौँमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने भएको छ। ५ दिन लामो महायज्ञ कार्तिक २१ गतेदेखि सुरु हुने आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जानकारी दिएको हो।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महायज्ञको मूल कार्यक्रम २५ गतेसम्म आयोजना हुनेछ। अतिरुद्रि महायज्ञ नेपालमा पहिलोपटक हुन लागेको आयोजकको दाबी छ।
महायज्ञका लागि तयारी योजनाअनुसार नै अघि बढेको मूल आयोजक समितिका अध्यक्ष दीपकप्रसाद बास्कोटाले जानकारी दिए।
शङ्कराचार्यद्वारा स्थापित चारपीठमध्ये ज्योतिर्मठका पीठाधीश शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीका अनन्य शिष्य महर्षि महेश योगी २०३१ सालमा नेपाल आएको पचासौँ वर्ष पुगेको अवसरमा महायज्ञ आयोजना गर्न लागिएको हो। मुख्यतः विश्व कल्याण तथा नेपाल राष्ट्रको समृद्धिका लागि समर्पित रहने आयोजकको भनाइ छ।
भावातीत ध्यान र सिद्धि साधक १ हजार १११ आचार्य तथा पण्डितबाट रुद्रि पाठपारायण हुनेछ। प्राचीन यज्ञका विधि, निष्ठा र आस्थासँग सम्पन्न हुने अतिरुद्र महायज्ञले लोपोन्मुख यज्ञका विधि र निष्ठालाई पुनर्जागृत गराउने दावी आयोजकले गरेका छन्।
फाउण्डेसनले नेपालका विभिन्न जिल्लामा रहेका गुरुकुलहरूका ब्राह्मण बटुकहरूद्वारा लामो समयदेखि नियमित रुपमा रुद्राभिषेक गराइरहेको जनाउँदै र त्यस्ता रुद्राभिषेकको जम्मा आवृत्ति संख्यामा प्रतिदिन एक महारुद्र (१२१ गुना ११ का दरले १३३१) पाठ गराइरहेको छ।
एक महारुद्र बराबरको संकल्प गर्न चाहने यजमानले १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्नुपर्नेछ। ५१ हजार १११ प्रदान गरी एक लघुरुद्र बराबरको संकल्प गर्न सक्ने आयोजकले जानकारी दिएको छ। ५ हजार ५५५ दक्षिणा प्रदान गरी एक रुपक (एक आवृत्ति षडङ्रुद्री)र चण्डीपाठको कर्ता बन्न सक्ने व्यवस्था गरिएको छ।
महर्षि महेश योगी वि.सं. २०३१ सालमा नेपालको पवित्र भूमिमा आएका थिए। आजभन्दा ५० वर्ष अघि महर्षिले ५०० थान टेलिभिजन सेट ल्याएर स्वयम्भूमा अस्थायी टावर जडान गरी रत्नपार्कमा दिएको प्रवचनलाई राजदरबार र सिंहदरबारमा अवलोकन गर्नसक्ने व्यवस्था गरेका थिए। खुलामञ्चमा २५ हजार भन्दा बढी जनमानसलाई एअरफोनद्वारा मन्त्रदान पनि गरेका थिए।


