मणिपुर- मानिसले मान्ने सबैभन्दा सुरक्षित ठाउँ घर हो। तर असुरक्षाका कारण घरबार छोडेर हिँड्नुको पीडा कस्तो हुन्छ, त्यो वसन्त सिंहको आँखामा प्रष्ट देखिन्छ।
वसन्त लामो समयदेखि मणिपुरको साइकुल क्षेत्रमा श्रीमती र दुई सन्तानसँग बस्दै आएका थिए। त्यहाँ उनले सानो किराना पसल चलाउँथे। राज्यमा हिंसा भड्किन सुरु भएपछि उनी आफ्नो र आफ्नो परिवारको ज्यान जोगाउन घरबाटै भाग्नुपरेको परेको छ। अहिले उनलाई आफ्नो घरमा के भइहेको छ भन्ने थाहा छैन।
विगत केही दिनदेखि राजधानी इम्फालको पंगाई क्षेत्रमा बनाइएको राहत शिविरको एउटा कुना नै अहिले उनीहरुको घरबार बनेको छ। घरबाट भाग्दा शरीरमा लगाएका कपडा र केही गहना नै अहिले यो परिवारको सम्पूर्ण जायजेथा बनेको छ। भाग्दाभाग्दै उनीहरू बचाउन सकेको यति मात्र हो।
‘साइकुल क्षेत्रमा हाम्रा बच्चाहरूसँग सबै कुरा थियो। तिनीहरूसँग साइकल, खेलौना, किताबहरू थिए,’ शिविरमा भेटिएका वसन्त सिंह भन्छन्, ‘यहाँ आएदेखि मेरो छोराले बाबालाई मेरो जुत्ता कहाँ छ भनेर सोध्छ, ऊ भन्छ – म फुटबल खेल्न जाँदैछु। उसले मेरो बग्गी कहाँ छ भनेर सोध्छ। बारम्बार यस्तै कुराहरू सोधिरहन्छ। यो कुराले मेरो मन टुटेको छ। दंगा फैलिएपछि हामी जुन अवस्थामा थियौं त्यही अवस्थामा दौडनुपर्यो। आफ्ना सबै कुरा बिराना भए।’

शिविरका आश्रितलाई थाहा छैन कहिले पाइएला घर फर्कन!
वसन्त मेइती समुदायका हुन् र उनी बसेको साइकुल क्षेत्रमा कुकी जातिको बाहुल्यता छ। हिंसा सुरु भएलगत्तै उनका केही कुकी साथीहरूले साइकल चढेर सुरक्षित ठाउँमा जान सल्लाह दिएको वसन्त बताउँछन्।
‘हामी हतारमा दौडनुपर्यो। यो गृहयुद्ध थियो। हामीले केही ल्याउनै सकेनौं। मैले छोराको चप्पल पनि ल्याउन सकिन। हामी त आफैंले लगाएको एकसरो लुगामा आएका हौं,’ वसन्त सम्झन्छन्।
अहिले वसन्त दुःख र चिन्ताको पहाडले घेरिएका छन्। उनी भन्छन्, ‘यी मेरा दुई सन्तान छन्। दुवै छोराछोरीलाई कसरी पढाउने? कमाउने बाटो छैन, पैसा छैन, घर छैन। कति दिन यहाँ बस्ने! यहाँ नबसे कहाँ जाने! म यो दिन सोचिरहँदा मेरो भन भरिन्छ।’

पी गिनलालको परिवार।
हिंसा सुरु हुँदा आफूले पसलमा लगाएको ताला आक्रोशित भीडले तोडेर पसल लुटपाट गरिसकेको जानकारी वसन्तले पाएका छन्। उनले त्यो पसलमा मायाले सजाएका चिजबिजहरु अहिले झलझल्ती सम्झिरहेका छन्। त्यो सम्झिँदा उनको मनमा भक्कानो फुटेर आउँछ।
अहिले त्यसरी नै विस्थापन भएर राहत शिविरमा वसन्तजस्तै करिब दुई सय जना परिवारसहित बसिरहेका छन्। त्यसमा महिला र बालबालिकाको संख्या पनि धेरै छ।
सरकारले यी जनतालाई गलैंचा, चटाई, कम्बल र लत्ताकपडाबाहेक खाद्यवस्तु र औषधि उपलब्ध गराउँदै आएको छ। वसन्त सिंह भन्छन्, ‘हाम्रो जीवनमा धेरै नोक्सान भइरहेको छ। धेरै दुःख छ। हामी बन्दुक र यस्तो लडाईं चाहँदैनौं।’
जलाइयो गाउँ
वसन्त ज्यान जोगाउन भागेर गएको सोही साइकुल क्षेत्रको चर्चमा स्थापना गरिएको राहत शिविरमा परिवारसहित पी गिनलालले पनि शरण लिएका छन्। २० वर्ष भारतीय सेनामा सेवा गरेपछि गिनलाल अहिले अवकाश जीवन शिविरमा बिताइरहेका छन्।
आफ्नो गाउँ जलेको र त्यही भएर राहत शिविरमा बस्नुपरेको उनी बताउँछन्। पी गिनलाल भन्छन्, ‘हामीले गाउँ छोड्नेबित्तिकै बीस मिनेटभित्रै ती मानिसहरू भित्र पुगेछन्। त्यसपछि गाउँ जलाउन थालेछन्।’

तोडफोड
गाउँबाट भागेपछि गिनलाल उनको परिवारसँगै दिनभर जङ्गलमा लुकेर बसे। उनी भन्छन्, ‘घर जलाएपछि हामीसँग कुनै सहारा थिएन। त्यसपछि सेनाले हामीलाई यहाँ ल्यायो।’
वसन्तको परिवारजस्तै पी गिनलालका परिवारले पनि घरबाट भाग्दा केही साथमा ल्याउन सकेका थिएनन्। ‘हाम्रो हातमा जे थियो र शरीरमा जे लगाएको थियो त्योसँगै जङ्गलमा भाग्यौं। साथमा केही बोक्नै पाएनौं।’
उनी भन्छन्, ‘यहाँ सुत्न गाह्रो छ, खान गाह्रो छ, छोराछोरी रोइरहेका छन्, आमा बिरामी छिन्, औषधि दिन पाएको छैन। आमाको ज्यान कहिले मर्छ, थाहा छैन। के हेर्दैछ सरकार? के हामी विदेशी हौं र?’
गिनलाल कुकी जातिका हुन् र मेइती समुदायका मानिसहरूले आफ्नो घर जलाएको उनी बताउँछन्। उनीहरू भन्छन्, ‘सरकार त हाम्रो अभिभावक हो नि। यो झगडा कसको हो र के कारणले भयो! त्यो सरकारले हेर्नुपर्ने हो नि होइन र? कसैको घर जल्यो, कसैको त गाउँ नै जल्यो। जसले जलाए उनीहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ कि आम मानिसले दुःख भोग्न नपरोस्।’

बढाइएको सुरक्षा व्यवस्था।
गिनलाल सरकारको यो बेवास्ताले हायलकायल बनेका छन्। उनलाई लाग्छ सरकारले चाँडै समाधान गर्नुपर्ने हो। यो बढ्दै गयो भने नयाँ पुस्तामा पनि असर गर्ने उनी बताउँछन्।
‘सरकारले जनताको ख्याल नगरे जनतालाई मर्न छोड्यो भने शान्ति कसरी हुन्छ। यस्तै रहने हो भने त जनताको मनमा बदलाको भावना जाग्नेछ,’ गिनलाललाई आगामी पुस्ताको पनि उतिकै चिन्ता छ।
किन भड्कियो हिंसा?
मणिपुरमा भएको हिंसामा हालसम्म ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। हजारौं मानिस घरबारविहीन भएका छन्। राज्यकै प्रभावशाली मैतेई समुदायलाई अनुसूचित जनजातिको दर्जा दिनु नै यस हिंसाको मुख्य कारण मानिएको छ।
मणिपुरको पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिले मैतेई समुदायलाई अनुसूचीमा जनजातिको दर्जा दिएको विरोधमा प्रदर्शन गरिरहेका छन्। विरोध गर्नेमध्ये र दंगा सुरु गर्नेमध्ये मुख्यतया कुकी जनजातिका मानिसहरू छन्।

प्रदर्शन।
मैतेई समुदाय पहिलेदेखि नै साधनस्रोत र प्रभावशाली रहेको मानिएको छ। यसकारण मैतेईलाई जनजातिको हैसियत दिएमा वास्तविक आदिवासी जनजातिले पाउने आरक्षणको फाइदामा कमी मात्र नभई आदिवासी जनजातिको जग्गा पनि क्रमशः मैतेईले कब्जा गर्ने आदिवासी जनजातिलाई लागेको छ। उनीहरु मैतेई समुदायद्वारा अतिक्रमण र समुदायका सबैकुरा कब्जा हुने दाबी गरिरहेका छन्।
मैतेई समुदायलाई आदिवासी जनजातिको दर्जा दिएको विरोधमा चुराचन्दपुरमा गत वैशाख ३ गते पदयात्रा निस्किँदा यही विषयमा चर्किएको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो।
मणिपुरको पहाडी क्षेत्रमा कुकी जनजातिको संख्या बढी छ भने मैतेई समुदायका मानिसहरू थोरै संख्यामा बसोबास गर्छन्। त्यस्तै, इम्फाल घाँटीमा कुकी समुदायको भन्दा मैतेई समुदायका मानिसको संख्या कैयौं गुणा बढी छ।
धेरै ठाउँहरू त यस्ता पनि छन कि कुकी र मैतेई समुदायका मानिसका गाउँहरू एकअर्काबाट टाढा नजिकै रहेका छन्। हिंसा सुरु भएलगत्तै राज्यका विभिन्न क्षेत्रमा जहाँ ठूलो संख्यामा भएका जातजातिले थोरै संख्यामा रहेका समुदायलाई निशाना बनाएको थियो। अहिले मैतेई र कुकी समुदायका सयौं घर जलेर खरानी भएका छन्।
हिंसा बढ्दै गएपछि मैतेई बाहुल्य क्षेत्रका कुकी जाति र कुकीबहुल क्षेत्रका मैतेई समुदायका मानिसहरु घर छाडेर भाग्न बाध्य भएका छन्। स्थिति बिग्रँदै गएको देखेर सेना र अर्धसैनिक बललाई राज्यभर तैनाथ गरिएको छ। र, उनीहरूले दुवै पक्षका हजारौं मानिसहरूलाई राहत शिविरमा पुर्याएका छन्।
अब यी हजारौं मानिसहरूलाई आफ्नो घर फर्काउन प्रशासनसामु ठूलो चुनौती छ। राज्यका धेरै क्षेत्रमा दिनहुँ यस्ता दृश्यहरू सामान्य भइसकेका छन्। सयौं मानिसलाई सवारीसाधनमा कोचेर घर फर्काइँदैछ।

शिविरमा आश्रितलाई गाडीमा कोचेर घर फर्काइँदै।
चुराचन्दपुरको जमिनको अवस्था
चुराचन्दपुरमा पनि हिंसा भड्किएको छ। खुट्टामा गोली लागेर चुराचन्दपुरकी २६ वर्षीया चिन्लियानमोई हिंसाको सिकार भएकी थिइन्। उनी भन्छिन्, ‘के भइरहेको छ मलाई थाहा छैन। तर मणिपुरको अवस्था राम्रो छैन। यहाँ हामी नभएको अवस्थामा हामीलाई आप्रवासी भनिन्छ। हाम्रा पुर्खाहरू वर्षौंदेखि यहाँ बस्दै आएका छन्। उही बेलादेखि यहाँ सधैं जातीय भेदभाव छ। हुँदै आएको छ, अहिले बढेको मात्र हो।’
अहिले जिल्ला अस्पताल चुराचन्दपुरमा शव आउने क्रम पनि बढेको छ। अस्पतालमा भर्ना भएकामध्ये करिब ४० जनालाई गोली लागेको यहाँका चिकित्सकले बताएका छन्। उनका अनुसार मृतकमध्ये अधिकांशको गोली लागेरै मृत्यु भएको छ।

शिविरमा आश्रितलाई गाडीमा कोचेर घर फर्काइँदै।
सोही अस्पतालमा कार्यरत नर्स नियाङ्होइ चिङको पनि अस्पतालको काम सकेर घर पुग्ने क्रममा गोली लागेर मृत्यु भएको थियो। नर्स नियाङ्होइ चिङका भाइ पोमिन्थाङ आफ्नी दिदी गुमाएकोमा शोकमा डुबेका छन्।
पोमिन्थाङ भन्छन्, ‘राज्यमा भाजपाको सरकार छ र केन्द्रमा पनि भाजपाको सरकार छ। यो हिंसा सुरुमै रोक्न सकिन्थ्यो। यो नरसंहार एक दिनमै रोक्न सकिन्थ्यो। तर त्यस्तो गरिएन।’
चुराचन्दपुरमा ज्यादातर कुकी जनजातिको बसोबास छ। उनीहरूको आरोप छ कि हिंसामा मैतेई समुदायका मानिसहरु जिम्मेवार रहेका छन्।
अर्कोतर्फ मैतेई समुदायका मानिसले कुकी जातिमाथि पनि यस्तै आरोप लगाएका छन्। आरोप–प्रत्यारोपको बीचमा सत्यता कतै छिपेको छ। तर एउटा कुरा प्रष्ट छ, दशकौंदेखि रहेका आदिवासी जनजाति र गैरआदिवासी समुदायबीचको अविश्वासको खाडी यो हिंसाले गहिरो भएको हो।
राती गस्ती
‘हामीले यस्तो अविश्वासको झलक इम्फाल सहरबाट अलि टाढा पुखाओ क्षेत्रमा देख्यौं। यहाँ रात परेपछि मैतेई समुदायका मानिसहरु हतियार लिएर भेला हुन्छन्। यहाँ हामीले थौनोजम रबीलाई भेट्यौं, ‘ उनी भन्छन्, ‘रातमा कुकी समुदायका मानिसहरूले हामीमाथि हमला गर्नेछन् कि भन्ने डर छ, त्यही भएर घर जल्नबाट जोगाउन यहाँ आएका हौं। हामीसँग खासै सुरक्षा छैन, तर हाम्रो घरहरू बचाउन सक्दो प्रयास गरिरहेका छौं। यदि यो अवस्था छिट्टै नियन्त्रणमा ल्याइएन भने, धेरै मानिसले ज्यान गुमाउनेछन्।’
मणिपुरमा हिंसा चरम सीमामा रहेको बेला धेरै ठाउँमा मानिसहरूले प्रहरी चौकीबाट सरकारी हतियार लुटेका खबरहरू आएका थिए। पुखाओमा रातभर आफ्नो गाउँमा पहरा दिएका मैतेई जनताले प्रहरी चौकीबाट हतियार लिएको स्वीकार गरेका छन्।

तीमध्ये एक जनाले नाम नछाप्ने सर्तमा भने, ‘जब हाम्रा गाउँहरू आक्रमणमा परेका थिए, हामीले प्रशासनलाई सुरक्षा दिन आग्रह गरेका थियौं तर कोही नआएपछि हामीसँग हतियार उठाउनुको विकल्प थिएन। हामीले प्रहरीलाई भन्यौं कि या त हामीलाई सुरक्षा दिनुहोस् वा हतियार दिनुहोस्।’
आफ्नो ज्यान जोगाउनका लागि मात्रै हतियार लुटेको र सरकारले सुरक्षाको प्रत्याभूति दिएमा हतियार फिर्ता गर्न तयार रहेको उनीहरुको भनाइ छ।
पुखाओमा बस्ने डब्ल्यू ओपन सिंह भन्छन्, ‘हामीसँग आफूलाई बचाउने कुनै उपाय थिएन। प्रहरी चौकी सबैभन्दा नजिक भए पनि यहाँ प्रहरी आएन। पुलिसले झगडा रोक्न सक्छ तर उसले त्यसो गर्ने चेष्टा गरेन।’

प्रहरीका हतियार लुटेर रातको समयमा गस्ती।
डरको वातावरण
राज्यका धेरै क्षेत्रमा डर र बदलाको वातावरण छ। मानिसहरु एकअर्कालाई शंकाको नजरले हेरिरहेका छन् र आपसी विश्वासको कमी प्रष्ट देखिन्छ। इम्फालको लाङ्गोल क्षेत्रमा वर्षौंदेखि विभिन्न समुदाय र जनजातिका मानिसहरू एकसाथ बस्दै आएका थिए। तर त्यस्तो क्षेत्रमा आज मौनता छ। यस क्षेत्रमा एउटा विद्यालय जलाइएको छ भने केही घरमा पनि आक्रमण गरिएको छ।
मानिसहरूले आफ्नो क्षेत्रमा किन हिंसा भयो भनेर बुझ्न सकेका छैनन्। जुनसुकै बेला आफ्नो घरमा आक्रमण हुन सक्ने उनीहरुको डर छ। घरबाट बाहिर निस्कन डराउँछन्। यस इलाकाका मानिसहरूले कागजमा आफ्नो जात वा समुदायको नाम लेखेर घरको ढोकामा टाँसेका छन्।
यसरी आफ्नो जात घोषणा गरेमा आफ्नो घर बचाउन सक्ने र भीडले आक्रमण गरे आफ्नो जातको नाम पढेर घर बचाउन सक्ने उनीहरुको भनाइ छ।

मणिपुर सरकारले राज्यमा भएको हिंसाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ। सरकारले पनि दोषीलाई उन्मुक्ति नदिने बताएको छ। सरकारले हिंसाबाट प्रभावितलाई क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ।
चुराचन्दपुरको कुकी विद्यार्थी सङ्गठनका अध्यक्ष सासाङ भैफई भन्छन्, ‘युद्ध वा द्वन्द्व कसैले चाहँदैन। हामीले जे भोग्यौं, त्यो पर्याप्त छ। दुवैतर्फको ज्यान गएको छ। दुवै पक्षको धेरै सम्पत्ति नष्ट भएको छ।’ यस्तै पछिल्लो घटनाक्रमका कारण आदिवासी समुदायमा आक्रोश बढ्दै गइरहेको छ।
‘मुख्य मुद्दा जग्गा हो,’ पहिचानवादी अनुसन्धान र संरक्षणका अध्यक्ष गिन्जा वुल्जोङ भन्छिन्, ‘मणिपुरमा आदिवासीहरूमाथि पनि भेदभाव भइरहेको छ। हामीलाई प्रभावशाली मैतेई समुदायबाट पूर्ण रूपमा अलग राख्नुपर्छ। जसले गर्दा हाम्रो छुट्टै प्रशासन बनोस्।’
यी सबैको बीचमा वसन्त सिंह, पी गिनलाल जस्ता हजारौं जनताले बुझ्नै सकेका छैनन्, उनीहरुमाथि नै किन यस्तो भयो? वसन्त सिंह भन्छन्, ‘हाम्रो के गल्ती थियो? हामीले कसैलाई हानि गरेका थिएनौं। यो लडाईंलाई जतिसक्दो चाँडो अन्त्य गरौं। हामीजस्ता मानिसहरू पनि उनीहरूको पक्षमा हुनेछन्।’ पी गिनलाल जुनसुकै पक्षबाट गल्ती भए पनि सजाय हुनुपर्ने धारणा राख्छन्।
(बीबीसी हिन्दीमा प्रकाशित रावको यो समग्री विनयज्योति सापकोटाले भावानुवाद गरेका हुन्।)



