नयाँदिल्ली–भारतको एक मन्दिरमा पटाका विस्फोट हुँदा १५४ जना घाइते भएका छन्।
सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एक मन्दिरमा गरिएको आतिशबाजीका क्रममा पटाका विस्फोटमा परी उनीहरू घाइते भएका हुन्। घाइते हुनेहरू आतिशबाजी हेर्न उपस्थित भएकाहरू भएको प्रहरीले जानकारी दिएको छ।
घाइते भएका ९७ जनालाई अस्पताल भर्ना गरिएको छ। तीमध्ये आठ जनाको अवस्था गम्भीर छ।
‘आठ जनाको अवस्था गम्भीर छ। १५४ जना घाइते भएको रिपोर्ट छ। ९७ जना अस्पतालमा भर्ना छन्,’ स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भने, ‘भण्डारण गरिएको ठाउँ नजिकै पटाका विस्फोट भएको देखिएको छ।’
विस्फोट भएपछि घटनाको अनुसन्धान गर्न प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ। मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको द हिन्दूले उल्लेख गरेको छ।
स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताए।


