काठमाडौँ- नेपाल र बंगलादेशका संचारकर्मी एवम अभियन्ताहरुबिच यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटिआइ)समूदायका मुद्दाका विषयमा साक्षात्कार गरिएको छ।
ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बंगलादेश र नेपालमा समूदायका मुद्दाहरुले पाइरहेको प्राथमिकताका विषय एवम उठिरहेको मुद्दाका विषयमा सहभागीहरुले धारणा राखेका थिए।
बंगलादेशबाट आएका विप्लव रोयले एलजिविटिआइ समूदायका मुद्दा र मानवीय व्यवहारमा बंगलादेशमा क्रमश परिवर्तन आउँदै गएको धारणा राखे। उनले मुस्लिम देश भएकाले धार्मिक रुपमा प्रशस्त चुनौतिहरुको सामना गर्दै अघि बढ्नु परेको भएपनि पछिल्ला बर्षहरुमा मिडिया र सरकारले सकरात्मक भूमिका निर्वाह गरिरहेको बताए।
ब्लु डाइमण्ड सोसाइटीकी अभियन्ता भूमिका श्रेष्ठले नेपालमा संवैधनिक रुपममा नै समूदायलाई सम्बोधन गरिएपनि कानुनी रुपमा अझै धेरै कामहरु बाँकी रहेको औंल्याइन। दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाल उदाहरणीय मुलुक रहेको उल्लेख गर्दै समूदायका मुद्दाहरुका सवालमा नीतिगत सुधार भएपनि व्यवहारिक कार्यान्वयनमा जटिलताहरु रहेको बताइन्।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले समूदायका मुद्दाहरु नेपाली मिडियाहरुले उच्च रुपमा प्राथमिकता दिएको बताए।
उनले नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको आचार संहितामा पनि लैङ्गिक विभेद गर्न नपाइने उल्लेख गरेकाले नेपाली मिडियाहरुले आचार संहिता अनुसार नै समूदायका व्यक्ति र मुद्दालाई उचित स्थान दिएको जानकारी दिए। साक्षात्कारमा सहभागीहरुले दुवै देशका अनुभव र व्यवस्थाबारे चर्चा गरेका थिए।


