काठमाडौँ- काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई पटक ऋण लिन रवि लामिछानेसमेत सम्लग्न भएको पाइएको छ। प्रहरी परिसर काठमाडौँमा स्वर्णलक्ष्मीको फाइलमाथी अनुसन्धान थालेपछि रविलाइ अझै अप्ठ्यारो पर्ने देखिएको हो।
यो सहकारीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ। गोर्खा मिडियामा जीबीका साझेदर रवि कास्की प्रहरीको हिरासतमा छन्।
उनीहरूमाथी पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोप छ।
स्वर्णलक्ष्मीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको छ। जीबी र रविले संयुक्त नाममा ऋण लिएको देेेेेखिएको प्रहरीको दाबी छ।
२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण लिएका थिए। ‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा भेटिएको छ। त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ।
रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा जीबी राईका साढु भाइ दीपक लामासहित २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। लामा पोखरास्थित सूर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा पनि संलग्न देखिएका छन्। पोखरा र रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेल, जीबी राई, नवीन अछामी र दीपक लामासहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जीबीभन्दा अगाडि उनका साढु भाइ दीपक स्वर्णलक्ष्मीको अध्यक्ष थिए।
नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेर थुनामुक्त भएका नवीन अछामी अहिले फरार छन्।
स्वर्णलक्ष्मी सहकारीका पीडितहरूले नन्दु तण्डुकारको संयोजकत्वमा संघर्षसमिति बनाएर आन्दोलन गर्दै आएका थिए।


