काठमाडौँ- नेकपा (एमाले)काठमाडौँ महानगरपालिका कमिटीले देउसीभैलो कार्यक्रम आयोजना गरेको छ। काठमाडौँ-१६ नयाँबजारमा मंगलबार देउसीभैलो कार्यक्रम आयोजना गरेको हो।
मंसिर १६ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै देउसीभैलो कार्यक्रम आयोजना गरिएको एमाले कठमाडौँ नगरपालिकाका अध्यक्ष गणेश श्रेष्ठले बताए। देउसीबाट २ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ।
कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिट ब्युरो सदस्य एवं पूर्वसांसद कृष्ण राईले मंसिर १६ मा हुने उपनिर्वाचनलाई समेत लक्षित गरी यही वडामा देउसी कार्यक्रम गर्नु सकारात्मक भएको बताए। नेता राईले तिहार सबै भाषा, संस्कृति र जातजातिले अपनत्व गर्ने पर्व भएको उल्लेख गरे।
‘मानिसको मात्र नभएर पशुपन्छीदेखि जनावरसम्मको पूजा हुने यो पर्व जीवनजगतका सबै पक्षसँग सम्बन्धित छ,’ उनले भने, ‘यो हाम्रो प्राचीन संस्कृति हो। यसले नेपाल र नेपालीलाई विश्वभर चिनाएको छ।’ उपचुनावको सम्मुखमा भएको कार्यक्रमले पार्टीभित्र र मतदातामा पनि एकताको भ्रातृत्वको सन्देश दिएको उनको भनाइ छ।
कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, केन्द्रीय सदस्य एवं पूर्वप्रदेश सभा सदस्य नारायण सिलवाल, केन्द्रीय सदस्य शर्मिला कार्की, केन्द्रीय सदस्य शान्ति अधिकारी, केन्द्रीय सदस्य सरिता न्यौपाने र काठमाडौँ महानगर एमाले इन्चार्ज तेजप्रसाद ढकाल सहभागी थिए।
काठमाडौँ महागरपालिका उपप्रमुख सुनिता डंगोल, एमाले काठमाडौँ जिल्ला उपाध्यक्ष विश्वराम सापकोटा, महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउला, वडाध्यक्षहरुलगायतले देउसी कार्यक्रम गरेका थिए। कार्यक्रमको सञ्चालन एमाले काठमाडौँ महानगर कमिटी उपसचिव एवं वडा नम्बर ९ की सदस्य सिर्जना भेटवालले गरेकी थिइन्।


