काठमाडौं–प्रजातान्त्रिक आन्दोलनको मसिहा कांग्रेस सत्तामा पुगेपछि भने आर्थिक मोहले बांगिने गरेको छ। संस्थापक बीपीबाहेक कांग्रेसका अन्य नेताहरु भ्रष्टाचार मुद्दामा मुछिएर पार्टीलाई बदनाम गराएका छन्। मुलुकको पुरानो राजनीतिक दल कांग्रेस प्रजातान्त्रिक आन्दोलनको अगुवा पनि हो। २००७ मा राणा शासन, २०४६ मा पञ्चायती शासन, २०६२/६३ मा २३५ वर्षको राजतन्त्र कांग्रेसकै कारण नासिएको हो।
प्रजातान्त्रिक आन्दोलनको मसिहा कांग्रेस सत्तामा पुगेपछि भने बांगिने गरेको छ। २०१५ मा बहुमतको सरकारमा रहेका बीपी कोइरालाबाहेक कांग्रेसका अन्य नेताहरु भ्रष्टाचार मुद्दामा मुछिएका छन्। राजा महेन्द्रले २०१७ मा बहुदल मासेपछि बीपीलाई विभिन्न बक्सिस लिएको र नगर दुरुपयोग गरेको आरोप लगाएका थिए। तर उक्त आरोप पुष्टि हुन सकेन। उल्टै बीपीले प्रधानमन्त्री भएका बेला पाएको पारिश्रमिक पञ्चायतले खाइदिएको गुनासो छोरा वीरेन्द्रसँग गरेको जेल जर्नलबाट थाहा लाग्छ।
अहिले बीपीको कांग्रेस सिद्धान्तवादी रहेन। सत्तामा पुगेर अकुत कमाउन कांग्रेसीहरुबीच २०४६ पछि प्रतिस्पर्धा चलिरहेको छ। त्यो अहिले पनि रहेको गृहजस्तो संवेदनशील मन्त्रालय सम्हालेका पूर्वमन्त्री बालकृष्ण खाण र उनकी पत्नी मञ्जुले देखाइदिएका छन्। बीपीले हुर्काइबढाई गरेको कांग्रेसका नेता, नेतृले भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई अनागरिक बनाउने धन्धामा संलग्न रहेर करोडौं रुपैयाँ कमाएको प्रमाण देखिएको छ।
कांग्रेसबाट धेरै व्यक्तिहरु प्रधानमन्त्री, मन्त्रीहरु बने। मुलुक चलाउने तहमा पुगेका कांंग्रेसका नेताहरु गृहमन्त्री बनेपछि भने कमाउ धन्धामा लागेको इतिहासले देखाएको छ। कांग्रेसको एकल सरकार होस् गठबन्धन। गृहमन्त्री भएकाहरुले पार्टीलाई दाग लगाइदिएका छन्। बीपीदेखि शेरबहादुर देउवासम्म आइपुग्दा कांग्रेसले धेरै राजनीतिज्ञ जन्मायो। नेताहरु राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बनिसके। तर, मौका पाउनासाथ राज्य दोहन गर्ने लिस्टमा कांग्रेस नेताहरुको संख्या अग्र भागमा छ। बीपीले कल्पना गरेको समाजवाद पछिल्लो समय परिवारवाद, पैसावादमा परिणत भएको छ।
कांग्रेसबाट सरकारमा पुगेका केही मन्त्रीहरु भ्रष्टाचारजस्तो अपराधमा मुछिए। भ्रष्टाचारको आरोपमा मुछिएकाहरुको राजनीति नै सिद्धिइसकेको छ। पार्टी जीवनबाट उनीहरु ओझेल परेका छन्। चिरञ्जीवी वाग्ले, जयप्रकाशहरु मन्त्री भएका बेला अकुत कमाएको प्रमाणपछि जेल बसे। राजनीति सिद्धियो। कांग्रेसमा २०४६ पछि २०७९ सम्मको प्रजातन्त्र, गणतन्त्र कालसम्म आइपुग्दा गृहमन्त्री भएका गोविन्दराज जोशी, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, बालकृष्ण खाणहरु भ्रष्टाचारको पापकुण्डमा डामिएका छन्। पार्टीलाई नोक्सानीमा पारेका छन्। भ्रष्टाचारकै कारण राजनीतिक जीवनको उत्तराद्र्धमा आएर उनीहरु बदनामी कमाउन पुगेका छन्।
खुमबहादुर खड्का
कुनै बेला कांग्रेसमा बलियो प्रभाव राख्ने खुमबहादुर खड्काको अहिले जीवित छैनन्। तर, उनी विभिन्न मन्त्रालय सम्हाल्दे गृहमन्त्रीसमेत बनेका थिए। गृहमन्त्री बनेका खड्काले भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरे। जेलबाट निस्किएपछि सक्रिय राजनीति गर्न तम्सिएका उनलाई पत्यारिलो आधार बन्न सकेन। भ्रष्टाचारकै कारण खड्काले बदनामी कमाएरै मर्नुपर्यो।
गोविन्दराज जोशी
गोविन्दराज जोशी पछिल्लो समय गत ४ वर्षको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निष्कासनमा परेका थिए। तर गत १० वैशाखको उपनिर्वाचनमा उनीमाथिको कारबाही फुकुवा भएको छ। चुनावमा अन्तरघात गरेको आरोपपछि तनहुँमै केन्द्रित रहेका उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको थियो।
उनले अदालतबाट सफाइ पाए पनि भ्रष्टाचार आरोपपछि राजनीतिक जीवनमा धक्का लागेको छ। कुनै बेला कांग्रेसमा रजगज गरेका जोशी कैयौंपल्ट मन्त्री हुँदा भ्रष्टाचारमा रमाएकै कारण उनको राजनीतिक जीवन करिब करिब समाप्त भएको छ।
विजयकुमार गच्छदार*
कांग्रेसबाट राजनीति थालेर कुनै समय मधेसी जनाधिकार फोरममा समेत हाम फालेका गच्छदार पनि धेरैपल्ट मन्त्री बन्ने अवसर पाए। उनी गृहमन्त्री बनिसकेका र हाल कांग्रेस राजनीतिमा रहेका नेता हुन्। यद्यपि उनलाई नेपाली कांग्रेसले भने गृहको जिम्मेवारी दिएको थिएन।
२०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचन अघि तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदार १० वर्षपछि २०७४ असोज ३० गते कांग्रेसमा नै फर्किए। उनी २०६८ भदौ १२ गते तत्कालीन नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। त्यसबेला उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरिसकेका थिए।
शक्तिमा पुगेका बेला गच्छदारले राज्य दोहन गरको प्रमाण बालुवाटार जग्गा प्रकरण हो। उनीविरुद्ध अहिले पनि त्यही प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। गच्छदार ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सक्रिय राजनीतिबाट टाढिँदै गएका छन्। गच्छदारविरुद्ध झन्डै ९ करोड ६६ लाख बराबरको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
बालकृष्ण खाण
कांग्रेस सभापति शेरबहादुर देउवा निकटस्थ मानिने खाण नक्कली शरणार्थी प्रकरणमा प्रहरी थुनामा छन्। रुपन्देही–३ बाट गत ४ मंसिरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग पराजित खाण कांग्रेसमा सभापति देउवा निकट भएकै कारण गृहमन्त्री बन्ने अवसर पाएका थिए। उनले पत्नी मञ्जु खाणलाई समानुपातिकबाट सांसदसमेत बनाएका छन्। तर, गृहमन्त्री हुँदा नक्कली शरणार्थी प्रकरणमा लेनदेनदेखि अन्य प्रकरणमा मुछिएको प्रमाण फेला परेसँगै हिले प्रहरी थुनामा छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणले पत्नीमार्फत ६ करोड घोटाला गरेका समाचार बाहिरिएका छन्। प्रजातन्त्रका लागि जुगौं लडे पनि सत्तामा पुगेपछि केही नेताहरुबाट भएको आर्थिक अपचलनले कांग्रेसको राजनीतिक क्षयीकरणको दिशामा लगेको छ।
(*सम्पादन गरिएको)


