२०८३ कार्तिक १८ गते मङ्गलबार

विवाहपञ्चमीको तयारीमा जुटे मिथिलाका पालिका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ५
janakpur_bibhaha_panchami (3)

महोत्तरी- मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ। विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतका लागि महोत्तरीमा तयारी थालिएको हो।

जन्ती नेपाल प्रवेश गर्ने नाका महोत्तरीको मटिहानी र भिठ्ठामोर हुन्। अहिले जिल्लाका मटिहानी, जलेश्वर र पिपरामा जन्तीको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ।

यस वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बोलाउने श्रीरामको तिलकोत्सवको कार्यक्रम जनकपुरधामबाट गएको टोलीले भारतको अयोध्यामा सम्पन्न गरेको छ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले गत सोमबार अयोध्यामा जन्ती आउने जानकी मन्दिरको निमन्त्रणापत्र अयोध्यास्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायलाई हस्तान्तरण गरिसकेको छ।

साथै मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले एक धार्मिक समारोहबीच सोही दिन श्रीरामको तिलकोत्सव पनि सम्पन्न गरेको छ। तिलकोत्सवमा दुलहीपक्षले दुलहालाई वस्त्रआभूषण, शृङ्गार प्रसाधन सामग्री र फलफूलसहित मिष्ठान्न परिकारका साथ पूजन (वरण) गर्ने मैथिल परम्परा छ। यो पारम्परिक विधि सम्पन्न भएसँगै अब मिथिलामा औपचारिक रुपमा विवाहपञ्चमी महोत्सव सुरु भएको छ।

मैथिल परम्परामा मङ्सिर सघन रुपमा विवाहसम्बन्ध जोड्ने उपयुक्त महिना मानिन्छ। कैयन हासपरिहासका रमाइला विधिले सम्पन्न गरिने हिन्दू मैथिल परम्पराको विवाह आफैँमा उत्सव रहेको जानकारहरु बताउँछन्। यसमा आराध्य देव श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको महिना मङ्सिर भएकाले मैथिलका लागि यो महिना पहिलेदेखि विशेष उत्सवको रुपमा रहँदै आएको छ।

अहिले यही विवाह महोत्सवका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्धका लागि तयारी थालेका छन्। मङ्सिर शुक्लपञ्चमीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मुख्य विवाहको विधि भने यसपालि मङ्सिर २१ गते शुक्रबार परेको छ।

अयोध्याबाट आउने जन्तीको नेपाल प्रवेशद्वार जिल्लाको भिठ्ठामोर र मटिहानी नाका भएकाले जन्तीको स्वागत, सत्कारका लागि आवश्यक तयारी सुरु गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। श्रीराम जानकीको विवाहमा यज्ञवेदी बनाइने माटो मटिहानीको लक्ष्मीसागरमा खनिएको जनविश्वाससहित जिल्लामा महोत्सवको विशेष तयारी हुने गरेको उनले उल्लेख गरे।

रामजानकी विवाह महोत्सवको मुख्य पक्ष जनकपुरस्थित राममन्दिर र जानकी मन्दिर रहँदै आएका छन्। विभिन्न विधिसाथ सप्ताहव्यापी रुपमा मनाइने यो महोत्सवका लागि यसपालि पाँच वर्षपछि खास अवसर बनेको छ। ‘प्रत्येक पाँच÷पाँच वर्षको महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ। यसपाली जन्ती आउने पालो परेकाले यसको तयारी तीव्र पारिएको हो’, नगरप्रमुख मण्डलले भने।

अयोध्याबाट आउने जन्ती मटिहानीमा एक बास बसेर जलेश्वर हुँदै जिल्लाको पिपरा गाउँपालिकालाई छिचोल्दै जनकपुर जाने चलन छ। यसअनुसार अहिले जन्तीको बास हुने र बाटोमा पर्ने महोत्तरीका स्थानीयतहले स्वागत, सत्कार, खानपान तथा आवासको उचित प्रबन्धको तयारी सुरु गरेका नगरप्रमुख मण्डलले जानकारी दिए। यो तयारीसँगै यी ठाउँमा अहिलेदेखि नै रामसीताका विवाहसम्बन्धका कथा र भाव समेटिएका गीत गुञ्जदैछन्। सबैतिर महोत्सवको उल्लास छाएको छ।

‘जन्ती यही मङ्सिर १७ गते सोमबार मटिहानी आइपुग्ने तालिका बनेको छ, हामी त्यसअनुसार तयारीमा जुटिसकेका छौंँ’, मटिहानी नगरप्रमुख मण्डलले भने, ‘त्यसै पनि मिथिलामा हुने विवाहमा जन्तीको स्वागत विशिष्ट तवरले गरिने चलन छ। यो श्रीराम र जानकीको विवाहका जन्ती हुन्, हामीले कुनै कमी हुन नदिने गरी तयारी थालेका छौँ।’ उनका अनुसार यसका लागि मटिहानी, जलेश्वर र पिपराका जनप्रतिनिधि, धार्मिक तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र साधुसन्तबीच आवश्यक तयारीको प्रबन्धबारे सघन छलफलसमेत भइरहेका छ।

यस वर्ष अयोध्याबाट पाँच सयको सङ्ख्यामा त्यहाँस्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायको नेतृत्वमा जन्ती आउने कार्यक्रम तय भएको नगरप्रमुख मण्डलले जानकारी दिए। विशिष्ट अतिथिका लागि स्वागत सत्कारसँगै भोजन र आवासको प्रबन्ध गरिने उनले स्पष्ट पारे। जन्ती भोलिपल्ट अर्थात् मङ्सिर १८ गते मटिहानीबाट जनकपुरका लागि प्रस्थान गर्नेछन्।

यस क्रममा जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेवको दर्शन गराइ उहाँहरुलाई खाजा चिया ख्वाइने कार्यक्रम बनेको छ। यसको तयारीमा जलेश्वर नगरपालिका जुटेको छ। ‘हामीले जन्तीका लागि महोत्तरीको बाटो सधैंँ सम्झनयोग्य बनाउने तयारी गरेका छौँं’, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले भने, ‘जिल्लाका सम्बद्ध तीनवटै स्थानीयतह (मटिहानी, जलेश्वर र पिपरा)बीच अहिलेदेखि काम र जिम्मेवारी छुट्याएर तयारी थालेका छौँ, तीनै ठाउँका जनप्रतिनिधिबीच आपसी समन्वय भइरहेकाले यस वर्ष पनि अयोध्याबाट आउने जन्तीका लागि विशेष बनाउँछौँ।’

जलेश्वरबाट अघि बढेपछि जन्तीको दिवा भोजन र त्यसपछिको विश्राम पिपरामा हुनेछ। पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले यस कार्यमा सम्पूर्ण पिपरावासी तयारीमा जुटेका बताए। पिपरावासी विशिष्ट अतिथिको स्वागतको पर्खाइमा रहेका उहाँको भनाइ छ।

मटिहानी, जलेश्वर र पिपरासहितका तीनै स्थानीयतहमा जन्तीको स्वागत तयारीमा आम सर्वसाधारण सरिक हुँदैछन्। सप्ताहव्यापी विवाह महोत्सवमा मटिहानी, जलेश्वर र पिपरा हुँदै अयोध्याबाट आएका जन्ती जनकपुर पुगेपछि ती जानकी मन्दिरका अतिथि हुन्छन्। जनकपुर बसाइँको सबै प्रबन्ध जानकी मन्दिर व्यवस्थापनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए। महोत्सवमा कुनै त्रुटि हुन नदिन सचेतता अपनाइने उनले उल्लेख गर।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा सात दिनका फरक–फरक विधि हुन्छन्। गुरु विश्वामित्रसँग भाइ लक्ष्मणका साथ श्रीराम जनकपुर प्रवेश गर्नुभएको पहिलो दिनलाई जनकपुर नगर दर्शनका रुपमा उत्सव मनाइन्छ। यसैगरी श्रीराम र जानकीको फुलबारीमा जम्काभेट भएको दिनलाई फूलबारीलीला, त्यसपछि धनुषयज्ञ, स्वयम्बर, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवाका विधि छन्।

मटकोर विवाहमण्डप बनाइएर विवाहअघि कूलदेवताको पूजा गरिने र अन्तिम दिनको रामकलेवा जन्तीलाई बिदाइ गरिने परम्परासँग जोडिएका विधि हुन्। यस महोत्सवमा जनकपुरस्थित श्रीराम मन्दिरका महन्थ दुलहाका पिता राजा दशरथको र जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा हुन्छन्। दुवै सम्धीबीच मैथिल परम्पराको हाँसख्याल ठट्टाले त्रेता युगकालीन श्रीराम जानकीको विवाहमा यस्तै रमाइलो भएको अनुमान गर्दै दर्शक दङ्गपर्ने गरेका साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए।

मिथिलाको यो विशिष्ट सांस्कृतिक महोत्सवमा बर्सेनि नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन सहभागी हुँदै आएका छन्। नेपाल र भारतबीच ‘रोटीबेटी’ को सम्बन्ध श्रीराम सीताको विवाहपछि बाक्लिएको त्यसयताका धार्मिक ग्रन्थबाट र पछिल्ला दिनमा भइरहेका सम्बन्धबाट उजागर भइरहेको मैथिल लोकसंस्कृतिका ज्ञाता जलेश्वर–५ का ध्रुव रायले बताए।

प्रकाशित: २०८१ मङ्सिर ५ गते बुधबार ०१:२१
प्रतिक्रिया

थप समाचार

नेपाल पुनर्बीमामा सरकारको लगानी थपिने, हकप्रद सेयरमा रकम जुटाउन बाटो खुल्यो

काठमाडौँः नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप लगानी गर्ने भएको छ। कम्पनीले जारी गर्ने हकप्रद सेयरमा सरकारको तर्फबाट लगानी गर्न मन्त्रिपरिषद्ले सहमति दिएको हो। कात्तिक १७ गते...

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना