काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा नै रहने भएका छन्।
जिल्ला अदालत काठमाडौँले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
साइबर अपराधको कसुरमा उनी मंसिर ५ गते पक्राउ परेका हुन्।
नेपाल प्रहरी साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालका अनुसार प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेकाले अनुसन्धानका लागि म्याद मागिएको र अदालतबाट म्याद प्राप्त भएको हो।
यसअघि पनि उनलाई ५ दिन नै हिरासतमा राख्न अदालतको अनुमति थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको भन्दै प्रसाईले आफ्नो बोलीसहितको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। तर उक्त भिडियोका सामग्री फेक भएको र अफवाह फैलाउने उद्योग गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।
उनीमाथि मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको राय छ।
अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ।
उता दुर्गाका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित गत शुक्रबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै आइतबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले दुर्गालाई सर्वोच्च अदालतमा उपस्थित गराउन र उनलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।


