लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २-० गोलको जित निकालेको हो।
रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जित हो। लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन।
लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो।
५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको गोल निर्णायक भएपछि लिभरपुल विजयी भएको हो।
च्याम्पियन्स लिगमा लिभरपुलको यो पाँचौं जित हो। ऊ अहिलेसम्म अपराजित छ।
जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। उसले पाँच खेलबाट १५ अंक जोडेको छ।
रियल मड्रिड २४ औं स्थानमा छ। उसको ६ अंक छ। १३ अंकसहित इन्टर मिलान दोस्रो स्थानमा छ।
गएराति नै एस्टन भिल्ल र युभेन्ट्सले गोलरहित बराबरी खेले भने रेड स्टार बेलग्रेडले स्टुटगार्टलाई ५-१ गोलले पराजित गरेको थियो।


