काठमाडौँ– छैटौँ संस्करणको डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम भएको छ। आइतबार काठमाडौंमा बाह्रखरी मिडियाद्वारा आयोजित विशेष समारोहमा विजेता घोषणा गरिएको हो।
प्रतियोगितामा कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालले ‘मैले देखेको विद्यालय’ शीर्षकको कथामार्फत तृतीय पुरस्कार प्राप्त गरे। प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट नेपाली कथाकारका ९३७ कथा प्राप्त भएको थियो। तीमध्ये उत्कृष्ट २५ कथाको संग्रह ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि कार्यक्रममा गरियो।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, साहित्यकार, कलाकारलगायत व्यक्तिहरूको ठूलो संख्यामा उपस्थिति थियो।


