काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ। रास्वपा उम्मेदवार रोजिना श्रेष्ठको जितले पार्टीलाई उत्साहित बनाएको छ।
आफ्ना सभापति रवि लामिछानेविरुद्ध प्रतिशोधका कारण प्रहरी हिरासतमा राखिएकै अवस्थामा पनि रोजिनाले वडाध्यक्ष पदमा जित निकाल्न सफल भएको भन्दै रास्वपाका नेता र कार्यकर्ता उत्साहित बनेका हुन्।
रोजिना श्रेष्ठ २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाए। यसअघि चुनाव जितेको कांग्रेसका उम्मेदवारले तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो। कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त मात्रै गरे।
रोजिनाको जितले पार्टीमा कीर्तिमान पनि बनाएको छ। रोजिना रास्वपाबाट निर्वाचित हुने पहिलो उम्मेदवार मात्र बनिनन्, देशभरमा नै स्थानीय तहमा विजयी हुने रास्वपाकी एक्ली र प्रथम उम्मेदवार पनि हुन्।
२०७९ मा स्थानीय चुनाव हुँदा रास्वपा गठन भएकै थिएन। यसपालि रास्वपाले पहिलो पटक स्थानीय तह चुनावमा भाग लिएको थियो। उपनिर्वाचन भएका ४४ स्थानमध्ये रास्वपाले २३ ठाउँमा उम्मेदवारी दिएको थियो। तर काठमाडौँ जिल्लाकै कीर्तिपुर नगरपालिकाको प्रमुख, वडा नम्बर १ र ४ का वडाध्यक्ष पनि निर्वाचन भएपनि रास्वपाले उम्मेदवारी नै दिएको थिएन।
रोजिनाले जितेको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ। यसअघि २०७९ र २०७४ का दुवै चुनावमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका थिए। यो क्षेत्रमा एमालेको पनि राम्रो मत भएपनि यसपालि रास्वपाले जित निकाल्न सकेकाले रास्वपामा निराशाकाबीच आशाको सञ्चार गर्न रोजिना सफल बनेकी छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ त्यो वडा हो, जहाँका वडाध्यक्ष मुकुन्द रिजाल काठमाडौं महानगरपालिका मेयर बालेन साहसँग कार्यपालिका बैठकमा विवाद भएपछि चर्चामा आएका थिए। डेंगी संक्रमणबाट मुकुन्दको मृत्यु भएपछि यो वडामा उपनिर्वाचन भएको हो। काठमाडौं महानगरको ३२ वडामध्ये रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ एक्ली महिला वडाध्यक्षसमेत बनेकी छन्।
रोजिनाको जितले संघीय राजधानी काठमाडौँमा आफ्नो पार्टीप्रति विश्वास कायमै रहेको देखिएको भन्दै रास्वपाका कार्यकर्ताको राहत महसुस गरेका छन्।
रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेयता विवादको यात्रा उकालो लयमा छन्। लामिछानेको विवादयात्रा उकालो लागिरहँदा पार्टीको शाख र विश्वासले ओरालो लय पक्रिएको विश्लेषण भइरहेको अवस्थामा रोजिनाले जित निकाल्न सफल भएकी हुन्।
लामिछाने कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। चितवन लगायत ठाउँबाट पनि पक्राउ पुर्जी जारी भएकाले उनको हिरासत बसाइ अझै लम्बिने देखिन्छ।
काठमाडौं–१६ मा २०४६ सालको जनआन्दोलनका कमाण्डर तथा कुनै समयका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको निवास रहेको वडा पनि हो। उनका छोरा र कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह यही वडामा पर्ने उनीहरूको निवास चाक्सीबारीमा बस्छन्। आइतबारको उपचुनावमा उनले यही वडाबाट मतदान गरे।
सिंह परिवारले मत दिएको चुनाव चिह्न रुखले संघीय व्यवस्था सुरु भएयताकै शर्मनाक हार खेप्नुपर्यो। उनकी पत्नी सिर्जना सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको प्रत्यासी थिइन्। २१ हजार मतदाता रहेको यो वडामा काठमाडौँ महानगरको ठूलो वडा हो। यसैमा रास्वापको जितले अर्थ राख्ने भन्दै रास्वपा उत्साहित छ।
रास्वपाको स्थानीय तह उपनिर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरिरहेका बेला जनताले आफ्नो दललाई न्याय दिएको प्रतिक्रिया दिए।
सरकारले रास्वपामाथी षड्यन्त्र गरेपनि त्यसका विरूद्ध सचेत जनताले आफ्नो अभिमत जाहेर गरेकाले जीत हासिल भएको बताए। यो मत कांग्रेस, एमालेलाई सच्चिनका लागि सन्देश पनि हो। रास्वपाले काठमाडौं–१६ मा निर्वाचित सांसद र केन्द्रीय नेताहरू परिचालन गरेको थियो। रास्वपाले गत निर्वाचनको मतलाई जोगाउन सफल मात्रै भएन, परिणाम आफ्नो पक्षमा पार्दै पार्टी पंक्तिमा उत्साह सञ्चार गर्यो।
काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। प्रतिनिधि सभा निर्वाचनमा पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरेका थिए।
तेस्रो मत मानुषी यमी भट्टराईले प्राप्त गरेकी थिइन्। नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट उम्मेदवारी दिएकी उनले ६ हजार ६३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २ हजार ८६३ र स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले २ हजार ७ सय ८३ मत प्राप्त गरेका थिए।
काठमाडौं ७ मा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारका रूपमा मानुषी यमीलाई अघि सारेका थिए।
समानुपातिकतर्फ भने रास्वपाले उल्लेख्य मतले एमाले, कांग्रेसलगायत दललाई पछि छाडेको थियो। रास्वपाले काठमाडौं ७ बाट १० हजार ५ सय ८८ मत प्राप्त गरेको थियो। एमालेले ६ हजार २ सय ९९ मत ल्याएको थियो। कांग्रेसले ५ हजार ४० मत प्राप्त गर्दा राप्रपाले ४ हजार ६२९ मत ल्याएको थियो।
अहिलेको उपनिर्वाचनले काठमाडौंमा रास्वपाको मताधार नखस्किएको भन्दै रास्वपामा उत्साह सञ्चार गरेको नेताहरूले बताइरहेका छन्।


