काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका हुन्।
यसअघि प्रधानमन्त्री ओली र चीनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा ८ विषयमा सहयोगसम्बन्धी सहमति भएको थियो।
मंगलबार दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि ८ विषयमा सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बेइजिङमा भएको भेटपछि उक्त हस्ताक्षर भएको हो।
‘नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दुई प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए। कनेक्टिभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप, जनसम्बन्धलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।
‘यो द्विपक्षीय वार्ताले नेपाल र चीनबीचको सम्बन्धलाई अझै उचाइमा पु¥याउन योगदान पुगेको छ’, ढकालले भने। द्विपक्षीय वार्तापश्चात ८ वटा महत्वपूर्ण बुँदासहितका सहमतिपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए।
सहमतिका विषयहरु यसप्रकार छन्ः
१) टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान
२) नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र
३) नौतले बसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान
४) प्रशोधित राँगाभैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल
५) विकास योजनासम्बन्धी समझदारीपत्र
६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८) स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९) नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र ।
यसअघि ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो।
समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए। चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो।
भ्रमण दलमा ओलीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संघीय सांसद्हरु, मुख्यसचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै आठ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कने तालिका छ।
भिडियो


