काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ ओभर १ बलमा ७४ रनमा समेटिएको हो।
पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्सको ब्याटिङ कमजोर रह्यो।
पोखराले खेलको ३.२ ओभरमै ६ विकेट गुमाउनु परेको थियो। त्यसबेला उसले ७ रन मात्र बनाउन सकेको थियो।
पहिलो ओभरमै कप्तान कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए। त्यसपछि पाँचौं बलमा दिलिप नाथ ४ रनमै मैदानबाट बाहिरिए। अन्तिम बलमा बास डी लिडे गोल्डन डकमा आउट भए।
पहिलो ओभरका तीनै विकेट चितवनका सोहेल तानबिरले लिएका थिए।
तेस्रो ओभरमा रिजन ढकालले पोखराका तीन विकेट झारे। दिनेश खरेल (१ रन), किरण थगुन्ना (० रन) र माइकल लिस्क (० रन) आउट भए। चौथो ओभर सकिँदा पोखराले ६ विकेट गुमाएर मात्र ७ रन बनाउन सक्यो।
पोखराले केही सम्हाल्ने प्रयास गरे पनि १३.२ ओभरमा ७४ रनमै अलआउट भयो। मार्कस क्रिचले १७ र नारायण जोशीले ३० रन बनाउँदै केही योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
चितवनका लागि रवि बोपराले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन बनाए। कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रनको योगदान दिए।
पोखराका बलरहरूमध्ये बिपिन खत्री र बास डी लिडेले २-२ विकेट लिए भने सागर ढकाल र रेमन रेफरले १-१ विकेट हात पारे।
यो जितसँगै चितवन राइनोजले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ। पोखरा एभेन्जर्स भने समीक्षा गर्नुपर्ने अवस्थामा पुगेको छ।
प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जित हो। चितवनले यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ५ विकेटको जित निकालेको थियो।


