झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर झापालीको नाम विश्वमा राख्ने गरी काम गर्ने दाबी गरेका छन्।
सोमबार झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजना उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो जिकिर गरेका हुन्।
‘तपाईँहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईँहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु,’ ओलीले भने,’देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ। हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने गरेमा देश बन्दैन। हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताए।
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने उनको भनाइ थियो।
कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २,३ र ४ का छ हजार पाँच सय २१ घरधुरीका २६ हजार सात सय ४३जनसंख्या लाभान्वित हुनेछन्।
ओली सोही स्थान पर्ने झापा-५ बाट गत निर्वाचनमा विजयी भएका थिए।


