भरतपुर- समाजका विभिन्न विषय, विधा र आयामबारे हुने बहस कार्यक्रम ‘चित्तौन कचेहेरी’ भोलि (शुक्रबार) देखि सुरु हुने भएको छ। नारायणगढ नारायणी कला मन्दिरमा शुक्रबार र शनिबार हुने ‘चित्तौन कचेहेरी’को यो दोस्रो संस्करण हो।
२०८० सालको वैशाख २९ र ३० मा कला मन्दिरमै ‘चित्तौन कचेहेरी’ भएको थियो। यो पटक कचेहेरीमा बहस गर्न स्वेदशीका साथै भारत र पाकिस्तानबाट पनि अतिथिहरू आउने भएका छन्।
‘चित्तौन कचेहेरी’को उद्घाटनमा पाकिस्तानका वैज्ञानिक, लेखक, बौद्धिक अगुवा डा.परवेज हुडबो प्रमुख वक्ता रहने आयोजक समितिका निर्देशक सरिता तिवारीले जानकारी दिइन्।
त्यसैगरी भारतबाट लेखक हर्ष मन्दर पनि ‘चित्तौन कचेहेरी’को बहसमा भाग दिन आउने उनले बताइन्। ‘पहिलो चित्तौन कचेहेरी चितवनको बस्ती विकास र विकासक्रममा किनारा लगाइएका आदिवासीको मुद्दामा केन्द्रित थियो,’ तिवारीले भनिन्।
यो पटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसामाथि मूल रूपमा चर्चा हुने तिवारीको भनाइ छ। आयोजकले कार्यक्रमलाई ‘विचारहरूको उत्सव’ भनेका छन्। उत्सव संयोजक सागर कार्कीले प्रस्तावित उच्च शिक्षा विधेयकलगायत देशको समग्र शैक्षिक समस्यालाई केलाएर प्रध्यापक चैतन्य मिश्रले तयार गरेको सोध पनि कार्यक्रममा पेस हुने जानकारी दिए।
दुई दिनसम्म युवा, बालबालिका केन्द्रित सत्रहरूदेखि बसाइँसराइ, नाबालिगमाथि हुने यौन हिंसा, जातीय छुवाछूतको समस्या, वातावरण, फोहोर व्यवस्थापन जस्ता विषयमा एक दर्जन सत्रहरू सञ्चालन हुने आयोजकहरूले जानकारी दिएका छन् । साहित्यको सत्रमा कविता केन्द्रित विषय उठान हुने छ । चितवनका विभिन्न संघ संस्थाहरूले संयुक्त रूपमा गर्ने ‘चित्तौन कचेहेरी’को संयोजन ‘बेटर चितवन’ले गरेको छ।
यस्ता छन् बहसका सत्र




