पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ तेस्रो साता नेपालका ओलम्पियनहरुको भेला हुने भएको छ। नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा जेठ १९ देखि २१ गतेसम्म भेलाको तयारी गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले जानकारी दिए।
सन् १९६४ देखि पछिल्लो जापान ओलम्पिक २०२० सम्म सहभागी नेपाली ओलम्पियनको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने अध्यक्ष विष्टले बताए। जापानमा सन् १९६४ मा भएको ओलिम्पकदेखि नेपालले सहभागिता हुन सुरु भएको हो।
६ दशकको अन्तरालमा करिब ८५ जना नेपालबाट सहभागी भएका ओलम्पियनमध्ये १० जनाको निधन भइसकेको छ। २० जना जति विदेशमा छन्। बाँकी नेपालमै भएकाले उनीहरुको सहभागिता हुने विष्टले जनाए। विदेशमा रहेका केही खेलाडीसमेत भेलामा आउने विश्वास अध्यक्ष विष्टले गरे। पोखरा क्षेत्रका नारायण गुरुङ, विधान लामा साथै विश्व ओलम्पिक कमिटीका प्रतिनिधिहरुको सहभागिता हुनेछ।
‘धेरै ओलम्पियनहरु पोखरामा सायद नआएको र नेपालमा थोरै ओलम्पियनहरु भएकाले गर्दा पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘ओलम्पियनहरुलाई सबै प्रदेशका नागरिकहरुले चिन्नुपर्छ, हरेक विद्यालयले समेत चिन्नुपर्छ भन्ने मेरो मान्यता हो।’
पर्यटन र खेलकुदको राजधानीको रुपमा परिचित पोखराको खेल पर्यटनको प्रवर्द्धन गर्न र आलम्पियनको घुमघाममा बढी रुचाएको स्थल भएको हुनाले पनि पोखरामा उनीहरुलाई भेटघाट गराउने व्यवस्था गरिएको विष्टको भनाइ छ।
‘धेरै ओलम्पियनहरु पोखरामा सायद नआएको र नेपालमा थोरै ओलम्पियनहरु भएकाले गर्दा पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘ओलम्पियनहरुलाई सबै प्रदेशका नागरिकहरुले चिन्नुपर्छ, हरेक विद्यालयले समेत चिन्नुपर्छ भन्ने मेरो मान्यता हो।’
नेपालका ओलम्पियनहरु जेठ १९ गते पोखरामा आउने र उनीहरुलाई पोखरामा स्वागत सत्कार गर्ने, भोलिपल्ट जेठ २० गते शनिबार पोखरामा प्रभातफेरी तथा विशेष सम्मान समारोह र जेठ २१ मा खेलाडी एवं खेलकुदकर्मीसँग अन्तक्रिया तथा पोखरा भ्रमण हुँदै धान्द्रुकसम्मको घुमघाम हुने प्रारम्भिक चरणमा छलफल भएको छ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा टोलीले आन्तरिक रुपमा व्यवस्थापनदेखि आगन्तुक ओलम्पियनहरुको स्वागत तथा सत्कार र घुमघामको व्यवस्था मिलाउने भएको छ।
कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिवद्धता पोखरेलीले दिएका छन्। कार्यक्रममा अध्यक्ष विष्टले पोखरामा आफूहरु आउन उत्साहित भएकोले आन्तरिक रुपमा उक्त कार्यक्रमलाई सफल पार्न सहयोग आह्वान गरे।
पूर्व बक्सिङका पदकधारी खेलाडी एवं पर्यटन व्यवसायी गणेश भट्टराईले खेलाडी भनेको सबैभन्दा ठूलो कुरा भएकाले नेपालका लागि खेलेका ओलम्पियनहरु पोखरामा आउनु आफैँमा महत्वपूर्ण कुरा भएको बताए।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उक्त कार्यक्रम पोखरामा पहिलो पटक गराउने तयारी गरेमा संघलाई धन्यवाद दिँदै आवश्यक सहयोग गर्ने वचन दिए। प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले उक्त कार्यक्रमलाई ऐतिहासिक बनाउनुपर्नेमा जोड दिए। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खेल पर्यटनको सहर पोखरामा उक्त कार्यक्रम हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।
पोखरा महानगपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले सबैसँगको सहकार्यमा उक्त कार्यक्रमः उत्कृष्ट बनाउने योजनामा आफूहरु रहेको बताए।


