गुलरिया- बर्दियाको गुलेरिया नगरपालिका-४ स्थित हुलाकी सडक खण्डमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीका अनुसार दुर्घटनामा परी बा ६८ प ७०३६ नम्बरको स्कुटरका चालक सप्तरीको रुपनी गाउँपालिका स्थायी घर भई गुलेरिया-६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्याको मृत्यु भएको छ।
स्कुटरमा सवार साहकी श्रीमती रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते छन्। उक्त स्कुटर भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो।
घाइते बाबुछोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र आमाछोराको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार साह दम्पती छोराछोरी लिएर आइतबार उभौली पर्वको बिदा बनाउन निस्केका थिए।
अस्पतालमा उपचाररत रुवी र उनका २ वर्षका छोराको अवस्था पनि सामान्य रहेको प्रहरीको भनाइ छ। साहको परिवार एक दशकदेखि बर्दियामा काम गर्दै आएका थियो।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।


