काठमाडौँ- नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ। ‘नेपाल टेलिकम – क्रिसमस गिफ्ट’ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो।
सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ। सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तर दिएर ५ हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ। यससँगै विश्वासिलो अफर देखाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कम्पनीले अहिले कुनै पनि प्रकारको क्रिसमस योजना ल्याएको छैन। टेलिकमका योजना र अफरबारे जानकारी लिन कम्पनीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट तथा वेबसाइटको सहयोग लिन उनले अनुरोध गरे।
साइबर सुरक्षा विज्ञका अनुसार यस्ता लिङ्कहरूमा मालवेयर वा भाइरस हुने सम्भावना धेरै हुन्छ। यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको बैंक खाता, पासवर्डलगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन्।


