काठमाडौँ – दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै पोर्चुगिज खेलाडी ब्रुनो फर्नाण्डेज रातो कार्ड खाएर मैदान बाहिरिएपछि म्यानचेस्टर युनाइटेडले वुल्भ्ससँग २-० को हार बेहोरेको छ।
वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमै खाएको थियो। हारपछि युनाइटेडले कम्तीमा १० औं स्थानमा उक्लिने अवसर पनि गुमाएको छ। पछिल्ला पाँच खेलमा मात्र एकमा जित निकालेको युनाइटेडले जारी प्रिमियर लिगमा १८ वटा खेल सकिँदा मात्र ६ वटामा विजय प्राप्त गरेको छ।
यता वुल्भ्सले भने १७ औं स्थानमा उक्लिने अवसर पाएको छ। यद्यपि ऊ रेलिगेसन जोनमै संघर्षरत छ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले लेस्टर सिटीमाथि ३-१ को सहज जित निकाल्दै शीर्षस्थानमा बलियो उपस्थिति जनाएको छ। घरेलु मैदानमा लिभरपुललाई जिताउन कोडी गाक्पो, कुर्टिक्स जोन्स र मोहम्मद सलाहले समान १/१ गोल गरे। पहिलो हाफमा १-० ले पछि परेको लिभरपुलले तीनै गोल दोस्रो हाफमा गरेको थियो।
चेल्सी पनि पराजित
केही खेलमा सुखद् नतिजा निकालिरहेको चेल्सीले भने फुलहामसँग आफ्नै मैदानमा हार बेहोरेको छ। कोल पाल्मरको गोलमा १-० को अग्रता बनाइरहेको चेल्सीले दोस्रो हाफमा भने २ गोल खाँदै पराजय भोग्न बाध्य भयो। हारपछि पनि चेल्सी १८ खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा यथावत् छ। पहिलो स्थानमा रहेको लिभरपुलको भने १७ खेलबाटै ४२ अंक भएको छ।
त्यस्तै अर्को खेलमा न्यु क्याससले एस्टन भिल्लालाई ३-० को फराकिलो अन्तरले हराएको छ।


