लम्की – कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज शिलान्यास गरेकी छन्।
लम्की चुहाँ नगरपालिका–३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको उनले शिलान्यास गरेकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री देउवाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन्।
उनले भनिन्,’सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिमका साथै समग्र मुलुकको समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।’
यस आयोजनालाई समयमा सम्पन्न गर्न आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन मन्त्री डा. देउवाले सबैसँग आग्रह गरिन्। उनले केबलकार समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आगामी दिनमा यस क्षेत्रका सम्भावना र आवश्यकता हेरेर पर्यटन पूर्वाधारमा बढीभन्दा बढी लगानी गर्न अनुरोध गरिन्।
‘काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूको दक्षता, अनुभव र क्षमताअनुसार यो केबलकार प्रोजेक्ट समयमा सम्पन्न होस् भनी कामना गर्दछु’, उनले भनिन्।
