काठमाडौं– नेपालको दाता एसियाली विकास बैंक (एडीबी) ले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक स्तरोन्नति गर्न करिब ४० अर्ब (३० करोड डलर) ऋण स्वीकृत गरेको छ।
उक्त ऋणमार्फत करिब ९५ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिनेछ। उक्त सडक खासगरी विपद् जोखिमबाट सुरक्षित रहने र पुल बाढीबाट पनि जोगिने गरी डिजाइन गरिने एडीबीले जनाएको छ। सडक खण्डमा सडक सुरक्षा, फुटपाथ, सडक बत्ती, सडक वारपार, बस स्टपलगायतका विशेषता रहनेछन्।
खासगरी भारत र बंगलादेशसँगको व्यापार सहजीकरणका लागि उक्त सडक स्तरोन्नति गर्न लागिएको हो। सडक निर्माणपछि सीमा क्षेत्रको व्यापार र स्थानीय समुदायको जीवनस्तर उकासिने एडीबीको दक्षिण एसिया क्षेत्रका यातायातविज्ञ सिन वाई चोङले बताए।
परियोजनाले सडक विभागको क्षमता पनि बढाउने एडीबीले जनाएको छ। सडक निर्माणका क्रममा सडक सुरक्षा जनचेतना कार्यक्रम, स्वास्थ्य तथा पोषण र मानव बेचबिखनविरुद्धका कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ। ऋण सहायतासँगै एडीबीले थप ७ लाख ५० हजार डलर बराबरको प्राविधिक सहायता अनुदानका रूपमा उपलब्ध गराउने जनाएको छ।


