काठमाडौँ – सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको पक्षमा रास्वपाकी सांसद सोविता गौतमले बहस गर्ने भएकी छन्।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्।
सात जना प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ।
न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँच जनाको बाँकी छ।
उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीका श्रेस्तेदार राजन खनालले बताए।
लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ। त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन्।


