काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट छुटेका छन्।
जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश दिएको हो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले पक्राउ गरेको थियो।
अदालतको आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ। अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस सकिएपछि लामिछानेलाई धरौटीमा छोड्न कास्की अदालतले आदेश दिएको हो।
यसैबीच लामिछानेको रिहाइपछि रास्वपाकी नेता सोविता गौतमले आफूहरूले न्याय पाएको बताएकी छन्। लामिछानेको रिहाइपछि अदालतअगाडि खुसियाली मनाउन भेला भएका नेता कार्यकर्ताबीच पत्रकारसँग गौतमले भनिन्,’अति नै धेरै कसरी हुन्छ यो मान्छे (लामिछाने) लाई जसरी हुन्छ जेलभित्र राखौँ, यो मान्छेलाई अभियोजन नै गरेर हिरासतमै राखौँ, अपराधी नै होजसरी ट्रिट गरेको जस्तो देखिन्थ्यो। तर अदालतको आदेशले हामीलाई केही राहत महसुस भएको छ।’
राज्य कतिसम्म लागिपर्छ भन्ने देखिएको उनले बताइन्।
काठमाडौंलगायत जिल्लामा पनि अरू मुद्दा भएकाले लामिछाेने तत्काल भने नछुट्ने भएका हुन्।


