विराटनगर – कोशीका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि आक्रमण भएको छ।
झापाको कनकाईस्थित दोमुखा क्षेत्रमा नेपाल प्रेस युनियनको कार्यक्रम सकेर फर्किएका उनीमाथि जामुनबारी चोकमा आक्रमण भएको हो।
थापासँगै गाडीमा सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंले बताएअनुसार थापा चढेको गाडी छेक्न खोज्ने एक जना चालकले उनीमाथि आक्रमण गरेका हुन्। पूर्वमुख्यमन्त्रीलाई बिर्तासिटी अस्पतालमा उपचार गराएर घर पठाइएको हुमागाईंले जानकारी दिए।
हुमागाईंले भने, ‘पूर्व मुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेर भनेपछि ती चालकले देश लुट्ने यिनै हुन्, नेताजति सबै चोर हुन् भन्दै एक्कासि आँखामा मुक्का प्रहार गर्यो। भल्भली रगत आउन थाल्यो।’
हुमागाईंका अनुसार मुक्का प्रहार गरेका ती व्यक्तिलाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।
झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका चालक र उनका सहयोगीलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन्। पक्राउ परेकाहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जानकारी दिएको छ।


