काठमाडौँ- संघीय निजामती विधेयकका सम्बन्धमा प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले तीन दफामा सहमति जुटाएको छ।
राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा दफावार छलफल गर्दै प्रस्तावना र तीन वटा दफामा सहमति जुटाइएको हो।
समिति सभापति रामहरि खतिवडाले विधेयकको प्रस्तावनासहित तीन वटा दफामा सहमति जुटेको जानकारी दिए।
विधेयकको प्रस्तावनामा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको विकास गर्न वाञ्छनीय भएकोले’ भन्ने वाक्यांश राखिएको छ।
सरकारले विधेयकमा प्रस्ताव गरेको प्रस्तावनामा समितिले संशोधन गरी सहमति जुटाएको हो। सरकारले गरेको प्रस्तावनामा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले, संघीय संसद्ले यो ऐन बनाएको छ’ भन्ने विषय उल्लेख थियो।
समितिले विधेयकका दफा १,३ र ४ पनि सहमति जुटाएको हो। संक्षिप्त नाम रहेको दफा १, संघीय निजामती सेवासम्बन्धी केन्द्रीय निकाय हुने भन्ने व्यवस्था रहेको दफा ३ र संघीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्त व्याख्या गर्ने दफा ४ मा सहमति जुटाएको हो।


