नयाँदिल्ली- भारतीय रिजर्भ बैंक (आरबीआई)ले दुई हजार रुपयाका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ।
शुक्रबार आरबीआईले विज्ञप्तिमा जारी गरी यी नोटहरू ३० सेप्टेम्बर २०२३ सम्म बैंकमा जम्मा गर्ने प्रयोजनका लागि वैध रहेन जानकारी दिएको छ। उक्त मितिसम्ममा आफूसँग भएका सबै २००० हजाका नोट बैंकहरूमा जम्मा गर्नसमेत आग्रह गरिएको छ।
कुनै पनि बैंक शाखामा एक पटकमा २० हजारसम्म जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ।
सर्वसाधारणले आफ्नो बैंक खातामा दुई हजार रुपयाका नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर साट्न पनि सक्नेछन्। मे २३, २०२३ देखि आफूसँग भएका दुई हजार दरका नोटहरू बैंकमा साट्न सकिनेछ।
₹2000 Denomination Banknotes – Withdrawal from Circulation; Will continue as Legal Tenderhttps://t.co/2jjqSeDkSk
— ReserveBankOfIndia (@RBI) May 19, 2023

सन् २०१६ को नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० रुपयाका नोट नचल्ने घोषणा गरेका थिए। त्यसपछि सरकारले दुई हजार रुपया दरका नोट चलनचल्तीमा ल्याएको थियो। तर ७ वर्ष नपुग्दै दुई हजार दरका नोट बजारबाट फिर्ता लिने घोषणा गरिएको छ।
सन् २०२१ मा तत्कालीन अर्थराज्यमन्त्री अनुराग ठाकुरले सन् २०१९ र २०२० मा आरबीआईले दुई हजार दरका नयाँ नोट नछापेको बताएका थिए।



